वीरगञ्ज २५ बैशाख - वीरगञ्जको नारायणी अस्पताललाई पुन: जनरल अस्पताल बनाउन आफुले केन्द्र सरकारसँग पहल गरेको भन्दै मंगलबार दिनभर यहाँका नेतहारुमा जस लिने होड नै चल्यो । विभिन्न राजनीतिक दलका नेताहरुले सामाजिक सञ्जालमा आफ्नो पहलमा नारायणी अस्पताललाई कोभिड २ लेभलको अस्पताल खारेज गर्दै पुन: जनरल अस्पताल बनाउन सफल भएको भन्दै दावी नै गरे ।
तर बिहीबारसम्म आइपुग्दा पनि नेताहरुले गरेको दावी अनुसार नारायणी अस्पताललाई पुन: जनरल अस्पताल बनाउने विषयमा स्वास्थ्य मन्त्रालयले कुनै आधिकारीक पत्र नै पठाएको छैन । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मदन उपाध्यायले अस्पताललाई पुन: पहिलेकै जस्तो जनरल सेवा संचालन गर्ने बारे अहिलेसम्म कुनै आधिकारीक पत्र नआएको बताए ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा संविधानसभा सदस्य विचारी यादवले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अहिले पत्र नपठाउन स्वास्थ्य मन्त्रीलाई नै टेलिफोन गरेर भनेकाले तयार भएको पत्र पनि रोकिएको दावी गरे । ‘नारायणी अस्पतालमा पुन: जनरल सेवा संचालन गर्नेबारे मन्त्रालयले पत्र तयार पारिसकेको थियो’, यादवले भने, ‘तर मुख्यमन्त्रीले नै स्वास्थ्यमन्त्रीलाई फोन गरेर अहिले पत्र नपठाइदिन र आफुहरुलाई छलफलका लागि केही समय दिन भनेकाले पत्र मन्त्रालयमा नै रोकिएको छ ।’
नारायणी अस्पताललाई पुन: जनरल अस्पताल बनाउने र गण्डक अस्पताललाई नारायणी अस्पतालकै नाममा कोरोना विशेष अस्पताल सञ्चालन गर्ने गरी वीरगञ्ज महानगरपालिकाले बैशाख ६ गते नै सम्झौता गरेर स्विकृतिका लागि स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको थियो ।
विभिन्न राजनीतिक दल र सामाजिक अगुवा लगायतको चर्को दवावका कारण मन्त्रालयले नारायणीलाई कोविड २ लेभलको अस्पताल खारेज गरेर गण्डकलाई सञ्चालन गर्न स्विकृति दिन लागेका बेला मुख्यमन्त्रीले नै अहिले पत्र नपठाउन भनेकाले त्यो विषय रोकिन पुगेको स्रोतको भनाई छ । तर मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार कोविड विशेष अस्पताल बनाउने भनेर गण्डक अस्पतालाई स्विकृति दिन लाग्नका पछाडि आर्थिक चलखेल देखिएको भन्दै थप जानकारी लिन’पर्ने भएकाले अहिलेलाई रोकिएको बुझिएको छ ।