वीरगञ्ज, बैशाख २५ – वीरगञ्ज महानगरपालिका वडा न. १७ अलौस्थित भन्सार क्षेत्रमा शसस्त्र प्रहरी र भारतिय नागरीक बिच झडप हुँदा हवाई फायर भएको छ ।
वडा नं. १७ स्थित अलौँबाट भारतको सिवान टोला तर्फ सामान लिएर जाँदै गरेको तस्कर र प्रहरी बीच झडप हुँदा हवाई फायर गर्नुपरेको हो ।
बिहिबार दिउँसो तस्करले लिएर गइरहेको समान प्रहरीले रोक्न खोज्दा प्रहरीमाथि नै हातपात गरेपछि आत्मासुरक्षामा प्रहरीले एक राउण्ड हवाई फायर गरेको वडा नं. १७ का वडा अध्यक्ष शुखरानी देवीले जानकारी दिनुभयो ।
‘भारत तर्फ समान लिएर जाँदै गरेको तस्करलाई प्रहरीले रोक्न खोज्दा सिवान टोलाबाट आएको एउटा समुहले प्रहरीसँग हातपात गर्न खोजेको थियो,’ वडा अध्यक्ष देवीले भन्नुभयो, ‘त्यसपछि आत्मासुरक्षामा प्रहरी जवानले हवाई फायर गरेका हुन् ।’
घटना पछि अहिले नेपाल र भारत दुवै तर्फका सुरक्षाकर्मीविच छलफल भएको र सिमानाका थप कडाई गर्ने सहमति भएको अध्यक्ष शुखरानी देवीले बताउनुभयो ।
झडपपछी तस्करहरु भारत तर्फ भागेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट अलौँले जनाएको छ ।