वीरगन्ज २५ बैशाख । एउटै परिवारमा १८ जना संक्रमित भेटिएपछि थप संक्रमण फैलनबाट रोक्न वीरगन्ज महानगरका अधिकांश क्षेत्रमा सवारी साधन आवत जावतमा पूर्ण रुपमा रोक लगाइएको छ । बिहीबार बिहान ५ बजेदेखि नै वीरगन्जको मुख्य सडक तथा संक्रमित भेटिएका वडा र त्यस आसपासका क्षेत्रमा आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको हो ।
अतिआवश्यकबाहेकका सबै सवारी साधनहरु स्थानीय प्रशासनको अनुमति विना चलाउन रोक लगाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय पर्साबाट यसअघि लिइएका सवारी सधान सन्चालनको इजाजतपत्र (सवारी पास) बिहीबारदेखि खारेज पनि गरिएको उनले बताए ।
उनका अनुसार अब आवश्यकता भए इ–पास अर्थात अनलाइनबाट अनुमतिपत्र (सवारी पास) लिएर मात्रै सवारी सधान चलाउनुपर्ने व्यावस्था बिहीबारदेखि गरिएको छ । बिहीबार इ पास नलिइ काममा हिँडेकाहरुलाई प्रहरीले सवारी साधन नियन्त्रणमा लिएर मानिसलाई भने घर फर्काइ दिनथालेको छ ।
वीरगन्जको मुख्य सडकको आवतजावतमा स्थानीय प्रशासनले पूर्ण रुपमा रोक लगाएपछि बिहीबारदेखि शहर झन सुनसान भएको छ । लकडाउनमा बिहान ११ देखि ३ बजेसम्म खुल्ने किराना पसलहरु पनि खुलेका छैनन् ।
लकडाउनमा निश्चित समयका लागि खोलिने गरेका बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द छन् । बिहीबार बिहानैदेखि शहरको हरेक टोल र चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको तैनाथी बढाउनुका साथै चेकजाचमा पनि थप कडाइ गरिएको छ ।