बीरगन्ज २५ बैशाख । बीरगन्जमा भेटिएका नयाँ संक्रमित बस्ने बस्तीका करिब ७ सय जनाको परिक्षण गर्ने तयारी गरिएको छ । हिजो मात्र बीरगन्जको छपकैयाका एकै परिवारका १७ जना सदस्यमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । अहिले उक्त बस्तीका थप ७ सय जनाको परीक्षण गर्ने तयारी गरिएको हो ।
बीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले भोलीदेखि परिक्षण शुरु गर्ने जानकारी दिनुभयो । “काठमाडौंबाट ४ सय र नेपाली सेनाबाट ५ सय किट आएको छ । भोलिबाटै स्वाब संकलनको काम सुरू गर्छौं,” उहाँले भन्नुभयो ।
९ सय किटमध्ये २ सय किट आपत्तकालीन अवस्थाको लागि राख्ने महानगरले जनाएको छ । स्वाब संकलनमा महानगर र नारायणी अस्पतालका स्वास्थ्यकर्मी खटिनेछन् । संक्रमित संख्या बढ्दै गएपछि छपकैया बस्ती उच्च जोखिममा रहेको छ ।
गत आइतबार एक जना ३६ वर्षीय पुरूषकै परिवारका १७ जनालाई कोरोना संक्रमण देखिएपछि अहिले महानगरका वडा नं. १, २ र ३ मा सिलबन्दी गरिएको छ । सो क्षेत्र सुरक्षाकर्मीको निगरानीमा छ ।