वीरगञ्ज, बैशाख २५ - बुधबार वीरगञ्जमा कोरोना सङ्क्रमितको संख्यामा ह्वातै वृद्धि भएपछी स्थानीय प्रशासन सजग बनेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले लकडाउनमा कडाइ गर्नका साथ् वीरगञ्ज महानगरका कयौँ वडालाई सिलबन्दी समेत गरेको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार राति एउटा सूचना प्रकाशित गर्दै वीरगञ्ज महानगरपालिकाको वडा नं. १, २ र ३ लाई पूर्णरुपले सिलबन्दी गर्नाका साथै शहरको मुख्य सडकमा सवारी साधन प्रयोगमा पूर्ण रुपले रोक लगाएको छ । वीरगञ्जको पावर हाउस चोक देखि रजत जयन्त चोकसम्म बिहान पाँच बजे देखि राति सवा सात बजे सम्मका लागि अनुमति बिनाको सवारी साधन चलाउन निषेध गरिएको हो ।
त्यसैगरि जिल्ला प्रशासन कार्यालय पर्साले अहिले सम्म उपलब्ध गराएको सम्पूर्ण सवारी पासहरु आजबाट खारेज भएको जनाएको छ । बिहिबार अर्को सूचना निकाल्दै प्रशासनले हालसम्म उपलब्ध गराएको सबै सवारी पासहरु बैशाख २५ गते पछि स्वत: खारेज हुन् जनाएको हो ।
अब प्रशासनले नयाँ पासका लागि अनलाईन फारम भर्नु पर्ने बताएको छ । नयाँ ई-पासका प्राप्त गर्नको लागि जिल्ला प्रशासन कार्यालय नपुगेर अनलाईन मार्फत फारम भरेर पास प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको हो ।
यसरि प्राप्त गर्न सकिन्छ ई-पास
- १११२ मा एबिसी (ABC) वा १२३ लेखी एसेमएस गर्ने ।
- रिप्लाई आएको लिङ्क खोल्ने ।
- लिङ्क खोली सबै विवरण भरी तथा आवाश्यक कागजात अपलोड गरी आवेदन बुझाउने वा विवरण पेश गर्ने ।
- पास जारी गर्नुपर्ने औचित्यपूर्ण कारण देखिएमा मात्र पास जारी गरिनेछ र त्यसकाे जानकारी यहाँहरूकाे माेवाइलमा एस.एम.एस.मार्फत पठाइनेछ ।
- यस कार्यालयबाट जारी गरिएकाे पास भए नभएकाे एकिन गर्न V पास नम्बर टाइप गरी १११२ पठाइ जाँच गर्न सकिनेछ ।