×

वीरगन्ज २५ बैशाख । लकडाउनमा पटेर्वासुगौली गाउँपालिकामा वैवाहिक कार्यक्रम सम्पन्न भएको छ ।

फागुन महीनामा छेका भएको र आजको दिन विवाहको मिति तय भएकोले लकडाउन पालना गर्दै वैवाहिक कार्यक्रम सम्पन्न गरिएको हो ।

पर्सागढी नगरपालिका–२ बागवन्ना निवासी बेहुला लालमोहनदास चौधरी मोटरसाइकलमा चढेर आए र पटेर्वासुगौली गापा–४ फरहदवा टोल निवासी बेहुली रुस्तम चौधरीसँग धार्मिक विधि अनुसार विवाह गरेर मोटरसाइकलमा लिएर फर्किए। बेहुलासहित तीनवटा मोटरसाइकलमा पाँचजना जन्ती लिएर आएका थिए ।

यसैगरी, बेहुली पक्षबाट पनि घरपरिवारका सदस्यहरू मात्र सहभागी भए। बेहुलीका पिता मुनीलाल चौधरीले निर्धारित समयमा विवाह गरेको बताए । उनले वैवाहिक कार्यक्रमका लागि नाचगान, टेन्ट, गाडी, भोजभतेरको व्यवस्थापन गरिए पनि लकडाउनको कारण सबै स्थगन गर्नुपरेको बताए ।

बुधवार बिहान ९ बजे बेहुला तीनवटा मोटरसाइकलमा जन्ती लिएर आएका थिए र दुई/तीन घण्टाको वैवाहिक कार्यक्रमपछि दाल, भात, तरकारी, मासु खाएर बेहुली अन्माएर गएका थिए। वैवाहिक कार्यक्रम लकडाउनमा सामाजिक दूरी कायम गरेर भएको स्थानीयले बताएका छन् ।

Back to top