×

वीरगञ्ज, बैशाख २० - प्रादेशिक अस्पताल जनकपुरमा नयाँ पिसिआर मेसिन जडान गरिएको छ । यसअघि चैत २१ गते जडान गरिएको पोर्टेबल पिसिआर मेसिनले गलत रिपोर्ट दिनथालेपछि त्यसलाई हटाएर शुक्रबार नयाँ मेसिन जडान गरिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा. रुना झाको टोलीले आएर मेसिन जडान गरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोरोना संक्रमित व्यक्तिको स्वाब परिक्षण गर्दा समेत नेगेटिभ रिपोर्ट देखाएपछि प्रादेशिक अस्पताल जनकपुरमा परिक्षण बन्द गरिएको थियो ।

नयाँ जडान गरिएको मेसिनको स्वाब परिक्षण गर्ने क्षमता पहिलेकै मेसिनजस्तो रहेको प्रादेशिक जनस्वास्थ्य कार्यालय जनकपुरका प्रमुख राम विनय साहले बताए ।

‘पहिलेको भन्दा यो मेसिनको डिजाइन मात्र फरक छ क्षमता उही छ । आज परिक्षण गरिरहेका छौँ । सही नतिजा आएपछि मात्र स्वाब परिक्षण सुरु हुनेछ,’ उनले भने ।

यस्तै वीरगञ्जमा समेत रियल टाइम पिसिआर मेसिन जडान कार्या भैरहेको जनस्वास्थय कार्यालयका वरिष्ठ प्रशासक विजय झाले जानकारी दिए । ‘२/३ दिनमा वीरगञ्जको मेसिन पनि सुचारु हुन्छ । राजविराज र जनकपुरमा पनि ठूलो मेसिन जडान गर्न छिट्टै टेण्डर आह्वान गर्ने तयारी भइरहेको छ । एक साता भित्र मेसिन किनेर संचालन गर्ने तयारी छ,’ झाले भने ।

यो मेसिनबाट एक पटकमा ७२ वटा नमुना परिक्षण गर्ने क्षमता रहेको उनले जनाए ।

Back to top