वीरगन्ज १७ बैशाख । वीरगन्ज महानगरपालिकाले राहत वितरणका लागि पठाएको चामल ‘गुणस्तरहीन’ भएको भन्दै वडाध्यक्षले वितरणमा रोक लगाएका छन् । चामलको बोरामा म्याद गुज्रिने मिति उल्लेख भए पनि उत्पादन मिति लेखिएको छैन । केही बोरामा चामलको तौलसमेत कम रहेको पाइएको छ । महानगरपालिका कार्यालयले बुधबार वडा नं. १४ मा ९ सय ५० किलो चामल पठाएको थियो ।
महानगरले पठाएको चामल डल्लो परेको र सडेको फेला परेको वडाध्यक्ष भरत कुर्मीले बताए । ‘राहत वितरणका लागि छुट्टाछुट्टै प्याकिङ गर्न जब बोरा खोल्यौं, तब कालो कालो चामलको डल्ला फेला पर्यो,’ उनले भने, ‘चामल तितो पनि भइसकेछ । नयाँ र पुरानो चामल मिक्स छ ।’ चामलमा कैफियत देखिएपछि उनले तत्काल महानगरका कार्यपालिका सदस्य अरविन्द गुप्तालाई जानकारी गराएका थिए । वडा नं. ३२ का अध्यक्ष चुमन चौधरीलाई लिएर गुप्ता केही समयमै वडा १४ पुगेका थिए । चामलको डल्ला हातले फोड्दै उनले पानीले भिजेर यस्तो भएको दाबी गरे ।
‘चामल ट्रकमा लोड भएकाले पानीले भिजेको हुन सक्छ,’ उनले भने, ‘यसमा उद्योगीको केही दोष छैन ।’ यसअघि उक्त वडामा दुई पटक राहत वितरण भइसकेको वडाध्यक्ष कुर्मीले बताए । ‘दुई पटक गरी करिब १ हजार ५० परिवारलाई राहत वितरण गरिएको छ,’ कुर्मीले भने, ‘पहिला आएको चामल राम्रो थियो, कुनै समस्या थिएन् ।’ उनका अनुसार बुधबार थप १ सय २५ परिवारलाई राहत वितरण गर्ने योजना थियो । यसका लागि नागरिकता संकलन गरी सूचीसमेत बनाइसकेका थिए ।
बुधबार महानगरबाट न्यु बोलबम राइस मिल र सुरज खाद्य उद्योग गरी दुई ब्रान्डका चामल आएको वडा कार्यालयले जनाएको छ । ‘बोलबमको विन्ध्यवासिनी ब्रान्डको चामलमा म्याद गुज्रिने मिति भनेर ६ महिना उल्लेख छ,’ वडाध्यक्ष कुर्मीले भने, ‘तर, चामल उत्पादन कहिले भयो त्यसको मिति प्रिन्ट गरिएको छैन । हामीले कुन मितिदेखि ६ महिनाभित्र उपभोग गर्ने ?’ सुरज ब्रान्डका बोरामा चामलको तौल ३० किलो प्रिन्ट गरिएको छ । ‘तर, वडा कार्यालयका कर्मचारीले तौल गर्दा ५ किलोसम्म कम तौल रहेको पाइयो,’ कुर्मीले भने ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगन्जका रत्नकान्त झाका अनुसार कुनै पनि खाद्य वस्तु यदि लेभल प्याक छ भने त्यसमा उत्पादन मिति, उपभोग मिति र ब्याच नम्बर उल्लेख भएकै हुनुपर्छ । ‘खाद्य ऐनअनुसार उपभोग मिति प्रिन्ट गर्नैपर्छ,’ उनले भने, ‘खाद्य वस्तुमा डल्लो स्वीकार्य हुँदैन ।’ वीरगन्जमा गुणस्तर जाँच्ने प्रविधि नरहेकाले नमुना संकलन गरी हेटौंडा वा जनकपुर पठाउन सकिने उनले बताए । साभार ekantipur.com