×

वीरगञ्ज, बैशाख १७ - कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको ३७ दिन भएको छ । यो अवधिमा मानिसहरु घर बाहिर निस्कन छाड्दा र होटल, पसल बन्द हुँदा वीरगञ्जका सडकमा हिँड्ने कुकुर, गाईलगायतका पशु चौपाया समस्यामा पर्न थालेका छन् ।

अहिले सयौँ कुकुर, गाईलगायतका पशु चौपाया वीरगञ्जको सडकमा छन् । तर लकडाउन सुरु भएयता यस्ता छाडा कुकुर र गाई भोकै परेका हुन् ।

होटल, रेष्टुराँ, मासु पसल सञ्चालन हुँदा सडकका कुुकुरहरुले पेट भर्न पाइरहेका थिए । तर, लकडाउनका कारण यस्ता पसल बन्द भएपछि खान पाएका छैनन् ।

भोकका कारण कुकुरहरु रिसाउने, खानाको खोजीमा ठाउँ चहारिरहने, झगडा गर्ने गर्ने गर्न थालेका छन् ।

वीरगञ्ज महानगरपालिकाले यस्ता कुकुर, र छाडा चौपायालाई लकडाउनको ३७ दिन बितिसक्दा पनि खानेकुरा खुवाउएको छैन ।

सडकमा छाडिएका कुकुर, तथा पशुचौपायाहरु समस्यामा परेपछि आज वीरगञ्ज युवा समाजले आहारा खुवाएको छ ।

समाजका अध्यक्ष कमल चौगाईँको नेतृत्वमा वीरगञ्जको विर्ता, लक्ष्मीनारायण टोल, आदर्शनगर, पानीटंकी लगायतको क्षेत्रका सडकमा भौतारिएका कुकुर, गाई तथा पशुचौपायालाई आहारा खुवाएको हो ।

Back to top