×

पोखरिया नगरपालिकाका एक जनप्रतिनिधिको मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको समय सरकारी नम्बर प्लेट भएको सवारी साधनको दुरुपयोग गरेको भन्दै प्रहरीले मोटरसाईकल वीरगञ्जबाट नियन्त्रणमा लिएको हो ।

पोखरिया नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अजय साह कलवारको नगरपालिकाले उपलब्ध गराएको मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएर कारवाही अघि बढाएको छ ।

कलवारको मोटरसाईकल निजका छोरा निखिल गुप्ताले दुरुपयोग गर्दै वीरगञ्जमा चलाईरहेको क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले मोटरसाईकललाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि घण्टाघर नजिकै रहेको विपी उद्यानमा पथाईएको जनाएको छ ।

कलवारका छोराले मोटरसाईकल दुरुपयोग गरेको यो घटना पहिलो भने हैन । उनले पहिला पनि धेरै पटक नगरपालिकाले दिएको सरकारी मोटरसाईकल दुरुपयोग गरेको गुनासो आउनेगरेको नगरपालिकाका एक कर्मचारीले जानकारी दिए ।

प्रहरीले लकडाउन अवधिमा सवारीसाधनको दुरुपयोग भए नियन्त्रणमा लिएर लकडाउन पछि मात्र छोड्ने जानकारी गराएको छ । हाल घण्टाघर नजिकै रहेको विपी उद्यानमा सयौंको संख्यामा मोटरसाईकल नियन्त्रणमा लिएर राखिएको छ ।

Back to top