×

जनकपुरधाम, बैशाख ६ - जनकपुरधामको महाविरचोकस्थित सडकमा पैसा छरेर भागेका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन् ।

उनी दुवैजना नातामा भाउजु र नन्द हुन् । आज दिउँसो जानकी नगरस्थित उनीहरुलाई घरबाटै पक्राउ गरिएको हो । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि सिसिटिभी फुटेजको आधारमा अनुसन्धान सुरु गरिएको थियो । सिसिटिभी फुटेजमा मुख छोपेकी दुईजना महिलाहरु देखिएपछि प्रहरीले उनीहरुको खोजी तीव्र पारेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रामेश्वर कार्कीका अनुसार सिसिटीभी फुटेजहरु झिकाएर शंकास्पद देखिएका र स्थानीयले भनेको हुलियाको आधारमा उनीहरुको खोजी गरिएको बताए । शुक्रवार दिउँसो जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ५ महावीर चौकको सडकको विभिन्न ठाँउमा स्थानीयले पैसा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले नोटबाट कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै शुक्रबार साझ घटनास्थलमा स्यानिटाइजर छर्केको थियो। त्यसैगरी नोट बरामद गरी ल्याब परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो ।

महिलाले १० रुपैयाँको १५ वटा नोट बाटोमा छरेर भागेका थिए।

Back to top