×

वीरगञ्ज, बैशाख ६ – वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोनाका चार जना संक्रमितको भोलि तेस्रोपल्ट पिसीआर परिक्षण गरिने भएको छ ।

पिसीआर परिक्षणका लागि भोलि संक्रमितहरुको स्वाब संकलन गरिने तयारी भएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो । यसअघि गरिएको दोस्रो पिसीआर परिक्षणको रिर्पोट पनि पोजेटिभ नै देखिएको डा. उपाध्यायले जानकारी दिए ।

वीरगञ्जस्थित छपकैयाको मस्जिदमा बस्दै आएका तीन जना भारतीय संक्रमित ज्वरो आएपछि चेकजाँचका लागि अस्पताल पुगेका थिए । शंका लागेर स्वाब परिक्षणका लागि काठमाडौं पठाइएकोमा उनीहरुको पिसीआर परिक्षण रिर्पोट पोजेटिभ आएको थियो ।

गत शनिबार स्वास्थ्य मन्त्रालयले तीन जनाको भारतीय कोरोना संक्रमितको पुष्टि गरेपछि नारायणी अस्पतालको आइसोलेसन कक्षमा राखेर उनीहरुको उपचार हुदैं आएको छ । साथै, त्यसपश्चात रौतहटमा फेला परेको संक्रमित एक युवक पनि नारायणीकै आइसोलेसनमा उपचाररत छन् ।

यता संक्रमितको सम्पर्कमा आएका सबैको आरडिटीको नतिजा नेगेटिभ देखिएको छ । वीरगञ्जमा भेटिएका तीन भारतीय संक्रमित बसेको वीरगञ्जमा महानगरपालिका वडा नं. १ र २ स्थित छपकैयामा सो आरडिटीको परिक्षण भइरहेको छ ।

विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय, जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले त्यस क्षेत्रमा आरडिटी टेस्ट गरिरहेको छ । स्वास्थ्य टोलीले संक्रमित गएको वीरगञ्जको वडा नं. २६ सुगौली पनि र्‍यापिड टेस्ट गर्ने जनाएको छ ।

Back to top