वीरगञ्ज, बैसाख ६ - वीरगञ्जमा चार र कैलालीको धनगढीमा उपचाररत एक जनामा कोरोना भाइरस कहाँबाट सर्यो भन्ने कयौँ दिन बितिसक्दा पनि सरकारले पत्ता लगाउन सकेको छैन।
उनीहरुमा देखिएको भाइरस आयातित हो कि स्थानीय संक्रमण भन्नेबारे अझै अन्यौल कायम छ । जसका कारण उपचारमा खटिएका चिकित्सकहरु नै अलमलमा परेका छन् ।
वीरगञ्जको नारायणी अस्पतालको आइसोलेसन वार्डमा यतिबेला तीन जना भारतीय नागरिक र एक जना रौतहटका बासिन्दा उपचाररत छन् ।
तीन जना भारतीय चैत २८ गते अस्पताल भर्ना भएका हुन् भने रौतहटका १९ वर्षीय युवामा वैशाख १ गते संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै वैशाख १ गते नै वीरगञ्जमा चिया पसल सञ्चालन गर्ने एक महिलालाई पनि कैलालीको धनगढी पुगेको बेला कोरोना संक्रमण देखिएको थियो । अहिले उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। आफू एक पटक वीरगञ्जबाट सीमापारि रक्सौल पुगेको बताएकी छन् ।
यी पाँचै जनामा भाइरस कहाँबाट सरेको हो, अझैसम्म निश्चित भइनसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले बताए ।
‘हामी थप अध्ययन गरिरहेका छौं, अहिलेसम्म कोरोना कहाँबाट सर्यो भन्ने ठ्याक्कै भन्न सकिने गरी तथ्य नै भेटिएको छैन,’ डा. पाण्डेले भने, ‘प्राप्त सूचनाका आधारमा मात्र लोकल ट्रान्समिसन हो भन्न सकिन्न ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुख डा. गुणराज लोहनीले भने पाँचै जनामा देखिएको कोरोना आयातित भएको बताए ।
‘पाँचै जनाको कोरोना विदेशबाटै आएको हो, उनीहरु दिल्लीमा गएका बेला सरेको भन्ने छ,’ डा. लोहनीले भने, ‘यसबारेमा अरु अध्ययन भइरहेको छ ।’
तर, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले भने यी पाँच जनामा देखिएको संक्रमणबारे अध्ययन नपुगेको बताए ।
पाँच जनामध्ये तीन जनाले बयान ढाँटेकाले पनि अस्पताल चिन्तामा छ। उनीहरु भारतबाट नेपाल आएको मिति र तिनको स्पष्ट विवरण अझै प्राप्त नभएको डा. उपाध्यायले बताए।
नेपाल आएपछि उनीहरु पूर्वका थुप्रै ठाउँ पुगेको बयान दिएका छन्। यदि यो आयातित नै हो भनेपनि त्यसले थुप्रैलाई सारेको हुनसक्ने चिन्ता डाक्टरहरुले व्यक्त गरेका छन्।
‘तीनजनाले ४ महिनादेखि नेपालमै रहेको भनिरहेका छन्, त्यसो भए कसरी, कहाँबाट सर्यो त कोरोना? यसबारेमा जसरी रिसर्च गर्नुपर्थ्यो, त्यो भएको छैन,’ डा. उपाध्यायले भने।
ती तीनै जना हालै दिल्लीमा भएको जमातीहरुको भेलामा सहभागी भएर आएको सूचना पनि स्वास्थ्य मन्त्रालयले पाएको छ।
उनीहरु बसेको मस्जिदमा सँगै रहेका अन्य ४४ जनाको पनि परीक्षण गरिएको थियो। तर, तिनमा संक्रमण देखिएको थिएन।
यी तीन जनासँगै यात्रा गरेका अन्य १२ जनामा पनि संक्रमण फेला परेपछि थप चिन्ता बढेको छ। उदयपुरको एक मस्जिदमा बस्दै आएका भारतीयसहित १२ जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ।
कुनै लक्षण नभएका तीन युवामा कोरोना पोजिटिभ देखिएपछि त्यसलाई गम्भीर रुपमा लिएर परीक्षणको दायरा बढाउनुपर्नेमा त्यसो नभएको अस्पतालका प्रमुख डा.उपाध्यायले गुनासो गरे।
‘लोकल ट्रान्समिसन होइन भने कहाँबाट कोरोना भित्रियो त? क्लोज कन्ट्याक्टबाट सर्ने कोरोना तीनजनामा देखिएपछि अन्य मानिसलाई सरेन भनेर कसरी ढुक्क हुन सक्छौं?’ उनले प्रश्न गरे।
पाँच जनामा कोरोना देखिइसकेपछि सरकारले अब वीरगञ्जमा केन्द्रित भएर अध्ययन गर्नुपर्ने डाक्टरहरुको भनाइ छ।
देशकै मुख्य नाकाका रुपमा रहेको रक्सौल त्यहीँ भएकाले पनि सो क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने उनीहरुले बताए।
तर, कोरोना देखिएको एक हप्तासम्म पनि अहिलेसम्म राम्रोसँग परीक्षण नहुँदा स्थानीयमा ठूलो त्रास फैलिएको छ।
‘कोरोनाका विज्ञहरु आएर खोजी, अन्वेषण गरेर यहाँ आयातित हो कि स्थानीय संक्रमण हो भन्ने बारेमा स्पष्ट पार्नुपर्नेमा सम्बन्धित निकाय सुन्दै नसुनी बस्यो,’ नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले भने।
काठमाडौंमा बसेर यो रोग फैलनेबारे जानकारी नहुने हुँदा वीरगञ्जमै पुगेर खोजी गर्न उनले सुझाव दिए।
तर, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डेले भने सो क्षेत्रमा व्यापक र तीव्र रुपमा परीक्षण भइरहेको दाबी गरे।
‘परीक्षण भइरहेको छ, नयाँ केस जस्तो देखिएको छ, खासगरी ती मानिसहरुले बयान फेरेकालेमात्र समस्या भएको हो,’ उनले भने, ‘हामी अध्ययन गरेर रिपोर्ट ल्याउँछौं।’