×

जनकपुरधाम, बैशाख ६ - सर्लाहीमा र्‍यापिड टेष्ट गर्दा एक बालकमा कोरोना भाइरसको एन्टीबडी पोजेटिभ देखिएको छ।

सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाईनमा रहेका एक जना १४ वर्षीय बालकमा र्‍यापिड टेष्ट गर्दा कोरोना भाइरसको एन्टीबडी देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहज बहादुर जिसीले बताएका छन्।

प्रजिअ जिसीका अनुसार उनीसँगै क्वारेन्टाईनमा रहेका अर्का एकजनाको भने र्यापिड टेस्टको नतिजा नेगेटिभ आएको छ।

एन्टीबडी देखिएका ती बालकलाई राति नै जनकपुरधाम पठाइएको जिसीले बताए।

यता आफुहरुले जानकारी पाए लगत्तै राति नै चेक जाँचका लागि सम्पूर्ण तयारी पूरा गरी बालकलाई प्रादेशिक अस्पतालको आईसोलेशन वार्डमा भर्ना गरेको जानकारी प्रादेशिक अस्पताल जनकपुरधामका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जामुन सिंहले दिएका छन्।

उनले स्वाब परीक्षण भएपछि मात्रै थप केही भन्न मिल्ने बताए।

एन्टीबडी देखिएका ती बालक गत चैत २३ गते भारतको दिल्ली हुँदै सर्लाही पुगेका थिए।

उनमा कोरोना संक्रमण भएनभएको भने पिसिआर रिपोर्ट पछि मात्र थाहा हुनेछ।

Back to top