×

वीरगञ्ज ३ वैशाख,। वीरगञ्जमा रहेका तीन भारतीय नागरिकलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको चार दिन अर्थात ९६ घण्टा भयो । तर उनीहरुलाई कहाँबाट संक्रमण भयो भन्ने अझै पत्ता लागेको छैन ।

उनीहरुको सम्पर्कमा आएका ४७ जनाको पहिचान गरी नमुना परीक्षणका लागि हेटौंडा पठाइएको स्वास्थ्य सेवा विभागबाट खटिएका डा. नरेन्द्रकुमार खनालले जानकारी दिए । संक्रमितहरु बसेको वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मक्की जामे मस्जिद क्षेत्रलाई सिल गरिएको छ र आजदेखि र्‍यापिड टेष्ट गरिने छ ।

स्वास्थ्य सेवा विभागबाट खटिएका डा. खनालले भारतीय नागरिकमा कोरोना संक्रमण कसरी भयो भन्ने पत्ता लगाउन नसकिएको बताए । ‘उहाँहरुको सम्पर्कमा जोजो हुनुहुन्थ्यो, पहिचान र्गयौं, संक्रमण भए नभएको परीक्षणका लागि थ्रोट स्वाबको नमुना संकलन गरेर पठाएका छौं’ उनले भने ‘तर चार दिन बितिसक्दा पनि कहाँबाट संक्रमित भए भन्ने रुट (जरा) पत्ता लाग्न सकेको छैन ।’

भारतबाट आएर वीरगञ्जको छपकैयास्थित मक्की जामे मस्जिदमा बसेका उनीहरुमा संक्रमण भएको २९ गते राति नै पुष्टि भएको थियो, जसको औपचारिक घोषणा भोलिपल्ट विहान मात्र भयो । तीनै जनाको अहिले वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

Back to top