वीरगञ्ज, बैशाख २ - बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीबीच टेलिफोन वार्ता भएको छ ।
वार्तामा मुख्यमन्त्री पौडेलले कोरोना भाइरसविरुद्ध प्रदेश २ लाई सबै तवरले सहयोग गर्न वाग्मती प्रदेश सरकार तयार रहेको जनाइएको छ ।
टेलिफोन वार्तामा मुख्यमन्त्री पौडेलले प्रदेश २ को समस्या नेपालको साझा समस्या भएकाले त्यसको मिलेर समाधान गरिने बताए ।
मुख्यमन्त्री पौडेलले प्रदेश २ मा धेरैभन्दा धेरैलाई कोरोना परीक्षण गर्नुपर्ने देखिएकाले परीक्षणमा वाग्मती प्रदेशले पूर्णरुपमा सघाउने बताउँदै उक्त प्रदेशबाट पायक पर्ने जति नमूना हेटौँडाको ल्याबमा पठाउन अनुरोध गरे ।
प्रदेश २ का मुख्यमन्त्री राउतले प्रदेश २ प्रति देखेएको चासो र सहयोगको प्रतिबद्धताप्रति पौडेललाई धन्यवाद व्यक्त गर्दै नेपाल भारतबीचको खुल्ला सिमानाका कारण कोरोना महामारी नियन्त्रणमा समस्या पर्नसक्ने जनाए ।
मुख्यमन्त्री राउतले नागरिकका आनीबानी तथा शैक्षिक अवस्थाका कारण समेत समस्या निम्तिन सक्ने उल्लेख गरे ।