×

वीरगञ्ज, २८ चैत, पर्साको पोखरिया अस्पताल अब जिल्ला अस्पतालमा स्तरोन्नति हुने भएको छ । प्रदेश २ सरकारले यो अस्पताललाई जिल्ला अस्पतालको रुपमा पूर्वाधार विस्तार गर्ने निर्णय गरेको सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हरिनारायण रौनियारले जानकारी दिनुभयो ।

पोखरिया पर्सा जिल्लाको क्षेत्र नम्बर ३ मा पर्दछ । ‘प्रदेश सरकारले पोखरिया अस्पताललाई जिल्ला अस्पताल बनाउने निर्णय गरेको जानकारी मुख्यमन्त्री लालबाबु राउतबाट पाएको छु । जिल्लाको केन्द्रमा रहेको पोखरियामा रहेको अस्पतालाई जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गरिनु यस क्षेत्रकै लागि खुशीको कुरा हो,’ रौनियारले बताए ।

प्रदेश सरकारको निर्णयसँगै पोखरियामा अब ५० शैयाको सुविधा सम्पन्न अस्पतालको रुपमा सेवा विस्तार हुनेछ । हामीले धेरै पहिलादेखि नै पोखरियामा जिल्ला अस्पताल हुनु पर्दछ भन्नेबारेमा पहल गर्दै आएका थियौं । यो प्रयास अहिले आएर सफल भएको छ । जिल्लाका बासिन्दाले सहज र सुलभ स्वास्थ्य सेवा लिन सक्ने आधार निर्माण भएको छ,’ समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्यसमेत रहेका रौनियारले बताए ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री हुँदादेखि नै पोखरियालाई जिल्ला अस्पतालको रुपमा स्तारोन्नति गर्न पहल गरेकोमा अहिले प्रदेश सरकारले यो निर्णय गरेको रौनियारले बताए । जिल्ला अस्पतालसम्बन्धी निर्णयको अधिकार प्रदेश सरकारलाई छ । संघ सरकारको समन्वयमा प्रदेशले पोखरिया अस्पताललाई जिल्ला अस्पताल बनाउने निर्णय गरेको बताइएको छ ।

रौनियारले यसअद्धि सो अस्पताललाई एम्बुलेन्स, ह्विल चेयर, स्वास्थ्य उपकरणलगायतका सामग्री उपलब्ध गराएका थिए । केही दिनअघिमात्रै सांसद रौनियारको पहलमा सो अस्पतालमा कोरोना उपचारका लागि ५ ओटा आइसोलेसन शैया बनाउने स्रोत जुटाइएको थियो ।

Back to top