×

 

वीरगन्ज १० चैत्र । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमणबाट जोगिन वीरगन्जका विभिन्न व्यवसायी संघले आ–आफनो व्यवसाय बन्द गरी सेल्फ क्वारेन्टाईनमा बस्न आह्वान गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश २, वीरगन्ज उद्योग वाणिज्य संघ र सुनचाँदी व्यवसायी संघ पर्साले छुट्टा–छुट्टै एक्यबद्धता पत्र सार्वजनिक गर्दैै आ–आफनो व्यवसाय बन्द गरी सेल्फ क्वारेन्टाईनमा बसी सहयोग गर्न अपिल समेत गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाईरसले बनाएको भयावह स्थिती नेपालमा पनि फैलन सक्ने र यस सम्बन्धी सरकारले सम्भावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा २१ गतेसम्म बन्द गर्ने गरेको घोषणा प्रति सुनचाँदी व्यवसाय महासंघ र जिल्ला संघले पनि एकयबद्धता जाहेर गर्दै आ—आफनो व्यवसाय बन्द गर्ने निर्णय गरेको संघका महासचिव प्रवेश सर्राफले बताए । त्यसैगरी वीरगन्ज उद्योग वाणिज्य संघले समेत सूचना निकाल्दै आ—आफनो उद्योग व्यवसाय बन्द गरी संक्रमणको जोखिमबाट बच्न सरकार गरेको निर्णय प्रति एकयबद्धता जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले नै हाम्रो मुलुक नेपाललाई अति जोखिम क्षेत्र भनि उल्लेख गरिएको अवस्थामा नेपालमा यसको संक्रमणको जोखिम फैलिन नदिन सरकारले अति आवश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्न गरेको निर्णय स्वागत योग्य रहेको व्यवसाय संघले जनाएको हो ।

अत्यन्तै जोखिमपूर्ण अवस्थामा हामी सबैमा संयमित भएर घरभित्र नै बस्ने र अति आवश्यक काम बाहेक बाहिर ननिस्कने वातावरण निर्माणको लागि चैत्र १६ गतेसम्म अत्यावश्यक सेवा बाहेक आ आफनो व्यवसाय बन्द गरी सेल्फ क्वारेन्टाईनमा बस्न आफना व्यवसायीमा अनुरोध गरेको छ ।

त्यसैगरी हिन्दुधर्मावलम्बीहरुले प्रत्येक बर्ष धुमधामका साथ मनाउँदै आएको चैते छठ समेत कोरोना भाईरसले गर्दा प्रभावित भएको छ । वीरगन्जको मुटु मानिने घडिअर्वा पोखरीमा तामझामका साथ लाखौ खर्च गरेर चैते छठ मनाउँने गरिन्थ्यो तर यसपाली कोरोना भाईरसले गर्दा घडिअर्वा पोखरीमा छठपुजा नगर्ने निर्णय छठ पुजा व्यवस्थापन समितिले गरेको छ ।

प्रत्येक बर्ष झै यसबर्ष पनि घडिअर्वामा धुमधामका साथ चैत्रेछठ मनाउँने तयारी स्थानियले गरेका थिए । तर कोरोना भाईरस विश्वभरी महामारीको रुप लिएपछि घडिअर्वा पोखरी परिसरमा छठ पर्व नै नमनाउँने निर्णय छठ व्यवस्थापन समितिले अध्यक्ष प्रेम साह कानुले बताए । उनले सरकारले जारी गरेको निर्देशनको पालना गर्नको लागि र कोरोनाको संक्रमणबाट जोगिनको लागि यसबर्ष घडिअर्वा पोखरीमा चैते छठ नमनाउँने निर्णय गरेको बताए ।

उनले भने, ‘सरकारले निर्देशन जारी गर्दै एक ठाउँमा २५ जना भन्दा बढी भेला नहुने जनाएको छ, छठमा हजारौं भक्तजनहरुको सहभागिता हुन्छ यसलाई नियन्त्रण गर्न सकिदैन त्यसैले यसबर्ष चैते छठ घडिअर्वामा हामी मनाउँदैनौ ।’ समितिका पदाधिकारी तथा भद्रभलादमीहरुको उपस्थितमा छठ पूजा नमनाउँने निर्णय गरेको छाँै, उनले भने, ‘यदी छठ पर्व मनाउँनु नै छ भने आ—आफनो घरमा बसी पुजा सम्पन्न गर्न अनुरोध समेत स्थानियमा गरेका छौ । यसपालीको चैते छठ यही १७ र १८ गते परेको छ ।’

 

Back to top