आशु सर्राफ/ वीरगञ्ज, फागुन १९ - प्रदेश २ को नामकरण र स्थायी राजधानीबारे टुंगो लगाउन यही फागुन २३ गते प्रदेशसभा मतदान हुने भएको छ । फागुन २२ गते बस्ने प्रदेशसभा बैठकमा नामकरण र स्थायी राजधानी टुंगो लगाउने प्रक्रियाबारे सदनलाई जानकारी गराई त्यसको भोलिपल्ट मतदान हुन लागेको हो ।
झण्डै तीन महिनादेखि अवरुद्ध प्रदेशसभा बैठक २२ फागुनमा बोलाइएको छ । फागुन २२ गते अपरान्ह १ बजे बस्ने प्रदेशसभा बैठकमा नामकरण र राजधानी टुंगो लगाउने प्रक्रियाको कार्यसूचीबारे सदनलाई जानकारी गराइने सभामुख सरोजकुमार यादवले जानकारी दिए ।
कार्यसूचीबारे सदनलाई जानकारी गराई फागुन २३ गते बिहान ८ बजेदेखि सदनमा नामकरण र राजधानीको प्रस्तावमा मतदान प्रक्रिया सुरु हुने उनले बताएका छन् ।
यादवले प्रदेशको नामकरणका लागि चार र राजधानीसम्बन्धमा तीनवटा प्रस्ताव दर्ता भएकोले सबै प्रस्तावहरुमा मतदान भइ दुई तिहाइ मत ल्याउने प्रस्ताव पारित हुने बताए ।
प्रदेशको स्थायी राजधानीबारे सबै दलहरु करिब-करिब एकमत देखिएपनि नामकरणमा सहमति हुनसकेको छैन । प्रदेश नामकरणको सवालमा सबै दलहरु आ–आफ्नै अडानमा कायम रहेकोले सहमति जुट्न नसकेको हो ।
प्रदेशको अस्थायी राजधानी र नामकरणबारे टुंगो लगाउन दलहरुबीच विवाद देखिएपछि सभामुख यादवको संयोजकत्वमा विशेष समितिसमेत बनाइएको थियो । समितिलाई पहिलो बैठक सुरु भएको एक महिनाभित्र सहमति जुटाई प्रस्ताव पेश गर्न भनिएको थियो । समितिले जनकपुरलाई राजधानी तोक्न सहमति जुटाए पनि नामकरणबारे सहमति जुटाउन असफल भएको छ ।
‘प्रदेशको राजधानी जनकपुरलाई तोक्न सबै दलका प्रतिनिधिहरुले समितिमा सहमति जनाइसकेका छन्,’ सभामुख यादव भन्छन्, ‘तर नामकरणबारे सहमति जुट्न सकेन । सहमति भएको राजधानीबारे टुंगो लगाउन पनि प्रक्रियामा जानैपर्ने हुन्छ । त्यसैले फागुन २३ गते मतदानको कार्यसूची तय गरेका छौं ।’ नामकरण र राजधानी दुवै प्रस्तावउपर २३ फागुनमा मतदान भइसकेपछि अन्तिम टुंगो लाग्ने उनको भनाइ छ ।
सत्ता साझेदार समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रदेशको नामकरण ‘मधेस प्रदेश’ प्रस्ताव गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ‘जानकी’ र नेपाली कांग्रेसले ‘मिथिला–भोजपुरा’ प्रस्ताव गरेको छ । नामकरणबारे सहमति जुटाउन पटकपटक बसेको समितिको बैठकमा सत्तासाझेदार दुवै दल मधेस प्रदेशबाट पछि हट्न तयार नभएपछि सहमति जुट्न नसकेको हो ।
यद्यपि सहमति जुटाउन प्रतिपक्षी दलहरुले भने आ–आफ्नो प्रस्तावमा लचकता देखाएको थियो । मधेस जोड्दै नेकपाले जानकी–मधेस र कांग्रेसले मिथिला–मधेश नामकरण गर्न सत्तासीन दलहरुलाई सुझाएका थिए । तर दुबै दल प्रतिपक्षी दलले ल्याएको प्रस्ताव अस्वीकार गरेपछि तत्काल प्रदेश नामकरणबारे टुंगो लाग्ने सम्भावना न्यून रहेको बताइएको दलका नेताहरु बताउँछन् ।
प्रदेश २ मा सत्ता पक्ष समाजवादीको ३० र राजपाको २५ सांसद छन् भने प्रमुख प्रतिपक्षी नेकपाको ३२, कांग्रेसको १९ र एकजना रिजवान अन्सारीका पार्टीका एक सांसद छन् ।