वीरगंज ७ फागुन । रिलिफ सोसाइटी अफ कमर्सका संस्थापक महासचिव तथा पूर्वअध्यक्ष ‘स्व। बिहारी लाठ कर्मवीर सम्मानपत्र’बाट पर्सा, हरिहरपुर बिर्ता निवासी समाजसेवी सुकदेवप्रसाद चौरसिया मंगलबार सम्मानित भएका छन् ।
स्व। बिहारीलाल लाठको आठौं पुण्यतिथिको अवसरमा मङ्गलवार रिलिफ भवन आदर्शनगर श्रीसियामा आयोजित कार्यक्रमका मुख्य अतिथि उद्योगी अशोक बैधले समाजसेवी चौरसियालाई दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरेका थिए । विगत साढे तीन दशकदेखि शिक्षण पेशामा आबद्ध चौरसिया समाजमा शिक्षाको सुधार तथा सामुदायिक विद्यालयमा रचनात्मक प्रयोग गरी अब्बल शिक्षा दिन तल्लीन छन् । कला तथा साहित्यको क्षेत्रमा पनि क्रियाशील चौरसिया शिक्षाको उन्नतिबाट समाजसेवा हुने र समाजसेवाबाट नै राष्ट्रको सेवा हुने बताउँछन् ।
सम्मानित भएपछि मन्तव्य व्यक्त गर्दै उनले राष्ट्रिय स्वार्थको अगाडि सबै खाले स्वार्थ फिका हुने बताए । कार्यक्रममा धार्मिक सहिष्णुता एवं मानव कल्याणको माध्यमबाट समाजसेवामा क्रियाशील बारा कलैयाका जङ्गबहादुर यादव र महमद सगिर ९रामरहिम०को जोडीलाई पनि दोसल्ला ओढाइ कदरपत्र प्रदान गरिएको थियो ।
रिलिफका अध्यक्ष अशोककुमार लाठको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य अतिथि एवं उद्योग वाणिज्य महासङ्घ प्रदेश नं २ का उपाध्यक्ष अशोक बैधले स्व। लाठको योगदानबारे चर्चा गर्दै समाजलाई जोड्ने काममा उनको अतुलनीय भूमिका रहेको बताए । उद्योगी बैधले स्व। लाठको पथलाई पहिल्याउँदै सम्मानित चौरसिया र रामरहिमको जोडीजस्तो समाजसेवामा तल्लीन हुन सके जीवनले सार्थकता प्राप्त गर्ने बताए ।
सो अवसरमा राधादेवी बृजलाल ट्रस्टको सहयोगमा प्राप्त सिलाइ मेशिन पर्सा र बाराका विभिन्न १५ जना उद्यमी महिलालाई प्रदान गरिएको थियो । कार्यक्रममा वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, पाठशाला वीरगंजका अध्यक्ष बालगोपाल थापा, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारा, राजपाका सहमहासचिव नेजामुद्दीन समानी, नेपाल रेडक्रस सोसाइटी पर्साकी उपसभापति मधु राणा, सम्मानित व्यक्तित्व चौरसिया र रामरहिमले मन्तव्य व्यक्त गरेका थिए ।
रिलिफका महासचिव नीरज अग्रवालले सहजीकरण गरेको कार्यक्रममा सम्मानित व्यक्तित्वहरूको चिनारी रिलिफका सल्लाहकार तथा वीउवासङ्घका पूर्वअध्यक्ष गणेश लाठ र रिलिफका पूर्वमहासचिव योगेन्द्रप्रसाद यादवले दिएका थिए भने उपाध्यक्ष यादवप्रसाद उपाध्यायले धन्यवाद ज्ञापन गरेका थिए ।
सो अवसरमा ज्येष्ठ नागरिक सङ्घ पर्साका पूर्वअध्यक्ष पशुपति विक्रम शाह, सङ्घकी उपाध्यक्ष उषा शाह, नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का उपाध्यक्ष केसी लामिछाने, प्रेस सङ्गठन पर्साका अध्यक्ष नीरज पिठाकोटे मगर, जिपी फाउन्डेशन पर्साका अध्यक्ष महमद सहाबुद्दीन, व्यवस्थित वीरगंज अभियानका संयोजक दिलीप कार्की, वाम नेता अरविन्द सिंहलगायतको सहभागिता थियो ।
ग्रामीण क्षेत्रमा रहेर ढल्कँदो उमेरमा समेत समाजसेवा तथा मानवसेवामा क्रियाशील, ओझेलमा रहेका व्यक्तित्व पहिचान गर्दै बितेको ७ वर्षदेखि रिलिफले हरेक वर्ष एकजनालाई ‘स्व। बिहारी लाठ कर्मवीर सम्मानपत्र’ प्रदान गर्दै आएको छ ।