वीरगंज, माघ २० - वीरगंजमा आयोजित प्रदेश स्तरिय वीरगंज प्रिमियर लिग (बिपिएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको छ । वीरगंजस्थित नारायण रङ्गशालामा आयोजित आज अन्तिम खेलमा वीरगंज स्टार्सले प्रतियोगिताको शिल्ड उचालेको हो ।
नेपाली राष्ट्रिय टोलीका किर्तिमानी खेलाडी महबुब आलमको कप्तानीमा रहेको सिंह ११ लायन्सलाई ४ विकेटले हराउँदै वीरगंज स्टार्सले उपाधी उचालेको हो ।
सोमबार भएको फाइनल खेलमा १ सय ४१ रनको लक्ष्य वीरगन्ज स्टार्सले १९ .५ ओभरमा ६ विकेट गुमाउँदै पुरा गरेको थियो। सिंह ११ ले दिएको १ सय ४१ रनको लक्ष्य, विवेक यादवको विस्फोटक अर्ध शतकीय पारीको मदतले वीरगंज स्टार्सले ७ बल बाँकी छँदै पुरा गरेर लिगको उपाधी जितेको हो ।
वीरगंज स्टार्सका लागि विस्फोटक ब्याटिङ गरेका यादवले केवल ३४ बलमा अविजित ७१ रन बनाए । सुरुवाती ६ व्याट्सम्यानहरु ६८ रनमै आउट भएपछि संकटमा परेको वीरगन्ज स्टार्सलाई सम्हाल्न क्रिजमा उत्रिएका यादवले ६ छक्का र ५ चौका प्रहार गरेका थिए ।
यादवलाई क्रिजमा खेलको अन्तिम क्षणसम्म साथ दिएका अलियास मन्सुरी पनि १५ रनमा अविजित रहे । राष्ट्रिय टोलीका सदस्यसमेत रहेका कप्तान हासीम अन्सारीले भने २० रनको योगदान दिए ।
बलिङतर्फ सिंह ११ का राहुल प्रताप सिंहले सर्वाधिक ३ विकेट लिए भने कप्तान महबुब आलम, रोविनकुमार सिंह र रोहितकुमार सिंहले समान १-१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिंह ११ ले पुरा २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो । उसका लागि हिमांशु दत्तले सर्वाधिक ५४ र अविनाश अधिकारीले ४५ रन जोडेका थिए । कप्तान महबुब आलम भने ६ रनमै पोभेलियन फर्किएका थिए ।
बलिङतर्फ वीरगंज स्टार्सका विवेक यादव, भुलावन सहनी, हरिशंकर साह र सैदुल्लाह अन्सारीले समान १–१ विकेट लिएका थिए । उपाधीसँगै वीरगंज स्टार्सले नगद २ लाख ५० हजार रुपैयाँ हात पारेको छ भने उपविजेता सिंह ११ ले १ लाख ८० हजारमै चित्त बुझाएको छ ।
प्रतियोगितको म्यान दि सिरिज घोषित वीरगंज स्टार्सका विवेक यादवले नगद २० हजार रुपैयाँ हात पारे । प्रतियोगिताको समापन समारोहमा प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले उपाधी विजेता र उपविजेता टिमलाई शिल्ड र मेडल प्रदान गरे ।
युनाइटेड क्रिकेट क्लबले आयोजना गरेको बिपिएल टि–ट्वान्टी क्रिकेटमा राष्ट्रिय र प्रदेश स्तरीय खेलाडीहरु सम्मिलित ६ वटा टिमले भाग लिएका थिए ।