वीरगन्ज १० माघ । बाह्र वर्षअघि रौतहटको फरहदवामा बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएका मानिसहरुलाई इँटाभट्टामा जलाएर शव नै बेपत्ता बनाएको अभियोग लागेका नेपाली कांग्रेसका नेता मोहमद आफताब आलम अहिले प्रहरी हिरासतमा छन् । उक्त मुद्दामा बिहीवारदेखि जिल्ला अदालत रौतहटमा थुनछेक बहस शुरू भएको छ । उनीविरुद्ध दायर भएको कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट मुद्दामा पक्ष विपक्षमा अदालतमा बहस चल्दै छ ।
लामो समयदेखि आफ्नो अपराध कर्मबाट उन्मुक्ति पाउँदै गरेका आलम एकाएक कसरी पक्राउ परे त ? १२ वर्षसम्म थुप्रै प्रहरी अधिकारीहरु सरुवा भएर रौतहटमा पुगेका थिए । तर, आफ्नो क्षेत्रको ‘बाहुबली’ रहेका आलमलाई कसैले पनि पक्राउ गर्न हिम्मत गरेका थिएनन् । उनी सधै प्रहरीको कारबाहीबाट बच्दै आएका थिए । २७ चैत, ०६४ मा भएको ‘रौतहट बमकाण्ड’का आरोपी आलम पटक–पटक सांसद र मन्त्री भइसकेका थिए । नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकाले पनि आलमलाई पक्राउ गर्नु सजिलो थिएन ।
१६ जेठ ०६९ मा सर्बोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र प्रा.डा. भरतबहादुर कार्कीले रौतहट बम विष्फोटका घाइते त्रिलोकप्रताप सिंह ‘पिन्टु’ र ओसी अख्तरलाई ज्यूँदै जलाएर शव गायब बनाएको घटनाबारे पुनः अनुसन्धान गर्न आदेश दिएका थिए । अदालतको सो आदेश सात वर्षदेखि आदेश पर्चामै सीमित थियो । फैसला कार्यान्वयन निर्देशनालयले सो आदेश कार्यान्वयन गरेर जवाफ पठाउन पटक–पटक पत्राचार गरिसकेको थियो । तर रौतहटको प्रहरी नेतृत्वमा जाने कसैले पनि अदालतको उक्त आदेशलाई कार्यान्वयन गर्ने जागर देखाएनन् । प्रष्ट भन्नुपर्दा उनीहरुले अदालती आदेशको अवज्ञा गरिरहे ।
तर, पछिल्लो समय नेपाल प्रहरीले विभिन्न अपराध कर्म गरेको आरोप लागेका ‘हाइप्रोफाइल’ व्यक्तिहरुलाई पनि आफ्नो निशानामा पार्न थालेपछि आलमलाई पनि पक्राउको तयारी थालिएको थियो । आलम पक्राउको लागि लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको विशेष पहलकदमीमा प्रहरी मुख्यालयले विशेष सक्रियताका साथ उक्त मुद्दा अनुसन्धानको प्रक्रिया अगाडि बढाएको थियो । त्यसको लागि महानिरीक्षक खनाल, गृह–सचिव प्रेमकुमार राई र महान्यायाधिवक्ता अग्नि खरेलले आलमलाई पक्रेर मुद्दा चलाउने विषयमा गत वैशाखमा पटकपटक छलफल गरेका थिए ।
उच्च तहको छलफल र आदेशपछि प्रहरी मुख्यालयले आलमलाई निगरानी र पक्राउ गर्न इन्स्पेक्टर कृष्णदेव साह नेतृत्वको टोलीलाई रौतहटमा खटाएको थियो । उक्त टोलीले करीब ४ महीनोखि आलममाथि विशेष निगरानी राखिरहेको थियो । वैशाखदेखि प्रहरी प्रधान कार्यालयको विशेष टोली रौतहटस्थित आलमको गाउँमा खटिएको थियो । तराईमा घर र आफन्त भएका विशेषगरी मुस्लिम समुदायका प्रहरीलाई सादा पोशाकमा आलमको गाउँमा राखेर यावत् सूचना संकलन गर्ने काम गरिएको थियो ।
सोही क्रममा रौतहट खटिएको प्रहरी मुख्यालयको टोलीले सबै सूूचना संकलन गरेर प्रहरी महानिरीक्षक खनाललाई रिपोर्टिङ गरेपछि आलमलाई तत्काल पक्राउ गरेर मुद्दा अगाडि बढाउन प्रहरी मुख्यालयले रौतहट प्रहरीलाई निर्देशन दियो । स्रोतका अनुसार सोही योजनाको लागि रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्रबहादुर खत्रीलाई चार पटकसम्म प्रहरी मुख्यालय बोलाएर महानिरीक्षक खनालले आलमलाई पक्राउ गरेर मुद्दा चलाउन निर्देशन दिएका थिए । तर पनि महानिरीक्षक खनालको निर्देशन कार्यान्वयन गर्न रौतहट प्रहरीले आँट गरेन । बरु प्रहरीले आपूुलाई पक्राउ गर्ने योजना बुनेको आलमले सुइँको पाए । स्रोत भन्छ ’पक्राउ गर्ने योजना स्थानीय प्रहरीबाटै चुहिएको थियो ।’
उता, आफूलाई पक्राउ गर्ने प्रहरी तयारीको विषयमा जानकारी पाएपछि आलम भारततर्फ भाग्ने योजना बनाइरहेका थिए । आलम भाग्न सक्ने सूचना पाएपछि प्रहरी महानिरीक्षक खनालले आफ्नो सुरक्षामा खटिएका एक जुनियर प्रहरी अधिकृतलाई तुरुन्तै रौतहट पठाए । मध्य तराईको आपराधिक समूहको बारेमा विशेष जानकार ती जुनियर अधिकृत रौतहट पुगेपछि उक्त टोलीले गर्ने अपरेसनको सुपरिवेक्षण तथा केही परिहाले बल प्रयोग गर्नको लागि प्रहरी मुख्यालयले जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्रसिंह राठौरलाई रौतहट खटायो । गत असोज २६ गते चन्द्रनिगाहपुर गौर सडकखण्डमा एसपी राठौरले आफ्नो नेतृत्वमा पिकेट खडा गरेर सयौं प्रहरीको टोलीसहित आलमको गाउँ घेरा हालेर अपरेसन शुरु गरे ।
उता इन्स्पेक्टर साह र प्रहरी मुख्यालयबाट गएका जुनियर अधिकृत समेतको टोली सादा पोशाकमा आलमलाई पछ्याउँदै थियो । सोही क्रममा गत असोज २६ असोज गते नै चन्द्रनिगाहापुर–गौर सडक खण्डको इद्रिस गेटबाट आलम पक्राउ परे, जुन गेट आलमको गाउँ छिर्ने मुख्य ढोका हो । अन्ततः ‘१२ वर्षपछि खोला पनि फर्किन्छ,’ भन्ने नेपाली उखानझैं १२ वर्षपछि आलमलाई पनि प्रहरीले पक्राउ गर्न सफल भयो ।
आलम पक्राउ परेपछि केही संचारमाध्यमले रौतहटका एसपी खत्रीलाई बहादुर एसपीको पगरी गुथाउँदै आएका थिए । तर यथार्थ फरक रहेको घटनाक्रमले देखाउदै गएपछि अहिले सबै चुपचाप देखिएका छन् । ’सामान्यतया एसपी इन्चार्ज भएको जिल्लामा अन्य जिल्लाबाट सोही दर्जाको अधिकृतको नेतृत्वमा थप मद्दत टोली जादैन । केही भवितव्य भएमा बरु माथिल्लो दर्जाकै अधिकृत पठाउने प्राक्टिस छ,’ प्रहरी प्रधान कार्यालयका एक डीआईजीले भने, ‘उनको कार्यक्षमतामा शंका लागेर वा उनले आइपर्ने समस्या समाधान गर्न सक्नेमा प्रहरी नेतृत्व विश्वस्त हुन नसकेकोले बाहिरबाट टोली पठाइएको हुनसक्छ,’ उनले भने ।
आईजीलाई एसपी खत्रीको झुठो रिपोर्टिङ!
असोज २६ गते अपरान्ह प्रहरी मुख्यालयको टोलीले भारतीय नम्बरको टोयोटा फर्च्युनर गाडीमा सवार पुर्वमन्त्री मोहम्मद अफताव आलमलाई घेराबन्दी गरिसकेको थियो। फिल्डमा खटिएको इन्स्पेक्टर कृष्णदेव साह नेतृत्वको टोलीले आलमलाई घेराबन्दी गरेर नियन्त्रणमा लिने क्रम चलिरहदा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बस्तुस्थिती बुझ्न रौतहट प्रहरी प्रमुख एसपी भुपेन्द्रबहादुर खत्रीलाई फोन गरे। 'के छ त्यहाँको अवस्था? अभियुक्त पक्राउ पर्यो त? प्रहरी महानिरीक्षक खनाललाई उद्दृत गर्दै प्रहरी मुख्यालय स्रोतले भन्यो। जवाफमा एसपी खत्रीले भने 'सर, आलम त भागेर इन्डिया पुगिसकेछ, पक्राउ गर्न सकिएन।' एसपी खत्रीको जवाफले झसङ्ग भएका महानिरीक्षक खनालले तत्कालै फिल्डमा खटिएको टोलीलाई सम्पर्क गरे।
'प्रहरी मुख्यालयबाट फिल्डमा खटिएको टोलीले जवाफ दियो 'सर, मोहम्मद अफताव आलम हाम्रो नियन्त्रणमा छन्। ' प्रहरी महानिरीक्षकको सचिवालयका एक अधिकारीका अनुसार आफुलाई गलत रिपोर्ट गरेको बुझेपछि खनालले एसपी खत्रीलाई फोनमै झपारेका थिए। 'प्रहरीले घेराबन्दी गरेर नियन्त्रणमा लिईसकेको एक हाईप्रोफाइल अभियुक्त भारततिर भागिसक्यो भनेर प्रहरी नेतृत्वलाई गलत रिपोर्टिङ गरेको बिषयमा हेडक्वार्टरले छानबिन शुरु गरेको छ।' ती अधिकारीले भने। साभार hamropolice.com