एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
बारा। निजगढमा १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका एकजनालाई जिल्ला अदालत बाराले पाँच दिनको थप म्याद दिई अनुसन्धान अघि बढाउन अनुमति दिएको छ।
इलाका प्रहरी कार्यालय, निजगढका अनुसार साउन १ गते साँझ निजगढ नगरपालिका–८ स्थित छोइलिङ तासी गुम्बा नजिकैको व्यायाम पार्क क्षेत्रमा स्थानीय १३ वर्षीया बालिकामाथि अनुचित यौनजन्य व्यवहार गरेको आरोपमा निजगढ–७ का २९ वर्षीय निरञ्जन लामासहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धानपछि पीडित पक्षले लामाविरुद्ध किटानी जाहेरी दिएपछि उनीमाथि बाल यौन दुर्व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाका बेला चारजना बालिका पार्क क्षेत्रमा खेलिरहेका थिए। तीमध्ये एक बालिकाले घर पुगेर अभिभावकलाई जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो। त्यसबेला बालिका र आरोपितहरू त्यहाँ नभेटिएपछि प्रहरीले पीडितको भनाइ र मोबाइल ट्र्याकिङका आधारमा खोजी अभियान चलाएको थियो। करिब चार घण्टापछि तीनजना बालिकालाई एक साथीको घरको बाथरूममा लुकेर बसेको अवस्थामा सुरक्षित उद्धार गरिएको प्रहरी निरीक्षक दाताराम अधिकारीले जानकारी दिए।
प्रहरीका अनुसार आरोपित लामाले घटनाबारे कसैलाई जानकारी नदिन बालिकाहरूलाई डर, धाक र धम्की दिएको भन्ने विषय पनि जाहेरीमा उल्लेख गरिएको छ।
यस घटनामा सँगै पक्राउ परेका अन्य दुईजनाको संलग्नता हालसम्म पुष्टि नभए पनि थप अनुसन्धानका लागि उनीहरूलाई प्रहरी नियन्त्रणमै राखिएको छ। पीडित पक्षले उनीहरूको भूमिकाबारे समेत निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ। स्थानीयवासीले घटनामा दोषी ठहरिने जोसुकैलाई पनि कानुनअनुसार कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।