एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज। पर्सा जिल्लामा साक्षरता अभियानले गति लिएको छ। एक महानगरपालिकासहित थप तीन स्थानीय तह साक्षर घोषणा गर्ने तयारीमा पुगेका छन्। सखुवाप्रसौनी गाउँपालिका, पकाहामैनपुर गाउँपालिका र बहुदरमाई नगरपालिकाले आवश्यक तथ्याङ्क सङ्कलन तथा मूल्याङ्कनको काम अन्तिम चरणमा पुर्याएका छन्।
जिल्लाका १४ स्थानीय तहमध्ये सबैभन्दा पहिले ठोरी गाउँपालिका साक्षर घोषणा भएको थियो। त्यसपछि जीराभवानी गाउँपालिकाले पनि साक्षर पालिकाको मान्यता प्राप्त गरिसकेको छ। अब वीरगञ्ज महानगरपालिकासहित थप तीन स्थानीय तहले आवश्यक प्रक्रिया पूरा गरी साक्षर घोषणा गर्ने तयारी गरेका हुन्।
पकाहामैनपुर गाउँपालिकाले आफ्ना पाँचवटै वडामा गणक परिचालन गरी साक्षरतासम्बन्धी तथ्याङ्क सङ्कलन सम्पन्न गरिसकेको जनाएको छ। त्यसैगरी, सखुवाप्रसौनी गाउँपालिकामा छ वटा वडामध्ये पाँच वडाको गणना सम्पन्न भएको छ भने एउटा वडाको तथ्याङ्क सङ्कलन बाँकी रहेको छ।
बहुदरमाई नगरपालिकाले १० वटा वडामध्ये पाँच वटामा तथ्याङ्क सङ्कलन सम्पन्न गरिसकेको छ भने बाँकी पाँच वडामा गणना कार्य जारी रहेको जनाएको छ। सम्बन्धित स्थानीय तहले सबै वडाको तथ्याङ्क सङ्कलन र प्रमाणीकरण सम्पन्न भएपछि औपचारिक रूपमा साक्षर घोषणा गर्ने तयारी गरेका छन्।
साक्षर घोषणा गर्न स्थानीय नागरिकको साक्षरता १२ वटा सूचकका आधारमा मूल्याङ्कन गरिन्छ। ती सूचकमा १ देखि १०० सम्म गणना गर्न सक्ने, स्वर र व्यञ्जन वर्ण चिन्न सक्ने, अंक लेख्न सक्ने, सामान्य हिसाबकिताब गर्न सक्ने, बिल वा भौचर तयार गर्न सक्ने, घडी हेरेर समय बताउन सक्ने, मोबाइल, ल्यापटप वा क्यालकुलेटर सञ्चालन गर्न सक्ने, चेकबुक भर्न सक्ने, ट्राफिक चिह्न चिन्न सक्ने, परिवारका सदस्यको नाम र उमेर लेख्न सक्ने, पोस्टर वा सूचनापाटी पढेर बुझ्न सक्ने तथा सामुदायिक कार्यक्रममा सहभागी भई आफ्ना विचार व्यक्त गर्न सक्ने क्षमता समावेश छन्। यी १२ सूचकमध्ये कम्तीमा छ वटा सूचक पूरा गर्ने व्यक्तिलाई साक्षर मानिने व्यवस्था छ।
यसैबीच, पर्साको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाका पाँच वटा वडा साक्षर घोषणा भइसकेका छन् भने बाँकी वडामा आवश्यक प्रक्रिया अघि बढिरहेको महानगरपालिकाले जनाएको छ।
पर्सामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी कुल १४ स्थानीय तह रहेका छन्। जिल्लाभर साक्षरता अभियानलाई प्रभावकारी रूपमा अघि बढाइएकाले आगामी दिनमा थप स्थानीय तह साक्षर घोषणा हुने अपेक्षा गरिएको छ।
स्थानीय तह, शिक्षा शाखा तथा सम्बन्धित निकायले तथ्याङ्क सङ्कलन, प्रमाणीकरण र सूचकको मूल्याङ्कनलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन्। अभियान सफल भएपछि जिल्लामा शिक्षाको पहुँच विस्तार हुनुका साथै नागरिकको आधारभूत साक्षरता, सीप र सामाजिक सहभागिता थप सुदृढ हुने विश्वास गरिएको छ।