रौतहट। मनसुनका बेला बाढी तथा कटानको उच्च जोखिममा रहने रौतहटको मौलापुर नगरपालिका–१, मर्यादपुरस्थित लालबकैया खोलाको बाँधको अवस्था तथा सम्भावित जोखिमको मूल्याङ्कन गर्न सोमबार साँझ उच्चस्तरीय अनुगमन गरिएको छ।
विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणलाई लक्षित गर्दै जनप्रतिनिधि, जिल्ला प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूको संयुक्त टोलीले बाँधको स्थलगत निरीक्षण गर्दै कटान नियन्त्रण र पूर्वतयारीका उपायबारे छलफल गरेको हो।
अनुगमन टोलीमा रौतहट क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य धिरजप्रसाद पटेल, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, मौलापुर नगरपालिकाकी प्रमुख रिना कुमारी साह, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजाल, सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हजमिनियाका प्रमुख एसपी रामहरि अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक कुमार बुढाथोकी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रतिनिधि तथा अन्य सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको थियो।
टोलीले लालबकैया खोलाले बाँधमा पुर्याउन सक्ने सम्भावित क्षति, कटानको जोखिम तथा आसपासका बस्तीमा पर्न सक्ने प्रभावबारे स्थलगत अध्ययन गरेको थियो। अनुगमनका क्रममा बाढी वा कटानको जोखिम देखिएलगत्तै तत्काल परिचालन हुने गरी सुरक्षा निकाय र सिँचाइ कार्यालयबीच प्रभावकारी समन्वय कायम गर्दै पूर्वतयारीलाई थप सुदृढ बनाउने सहमति भएको जनाइएको छ।
रौतहटको पूर्वी क्षेत्रमा बग्ने बागमती नदी र पश्चिमी क्षेत्रमा रहेको लालबकैया खोलामा हरेक वर्ष आउने बाढीका कारण आसपासका बस्ती तथा ठूलो परिमाणमा खेतीयोग्य जमिन कटान र डुबानमा पर्ने गरेको छ।
जोखिमलाई मध्यनजर गर्दै संयुक्त टोलीले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन, मौसमसम्बन्धी आधिकारिक सूचनाको नियमित रूपमा पालना गर्न तथा जोखिम बढेमा तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरेको छ।
मनसुनको सक्रिय समयमा गरिएको यस संयुक्त अनुगमनलाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्। यद्यपि, हरेक वर्ष दोहोरिने बाढी र कटानको समस्या समाधानका लागि अस्थायी मर्मतभन्दा दीर्घकालीन, दिगो र मजबुत तटबन्ध निर्माणको काम समयमै अघि बढाउन उनीहरूले सरकारसँग माग गरेका छन्।