×

रौतहट । भारत–नेपाल सीमामा तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाएको सशस्त्र सीमा बल (एसएसबी) ले रौतहटबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको ठूलो परिमाणको नेपाली मदिरा बरामद गर्दै दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

दुई छुट्टाछुट्टै अपरेशनमा ८५२ बोतल (२५५.६ लिटर) कस्तुरी ब्रान्डको नेपाली मदिरा, तीन वटा मोटरसाइकल सहित बरामद गरिएको छ भने एउटा अपरेशनमा मदिरा ओसार्ने भरिया फरार भएको जनाइएको हो ।

एसएसबी ७१ बटालियन मोतिहारीका अनुसार प्राप्त सूचनाका आधारमा ’एफ’ कम्पनी अठमुहान र मोतिहारी एक्साइज विभागको संयुक्त टोलीले सीमा स्तम्भ नम्बर ३५८–५ नजिक सैनिक रोड क्षेत्रमा छापा मार्दा ४०२ बोतल (१२०.६ लिटर) कस्तुरी मदिरा र एउटा हिरो स्प्लेन्डर मोटरसाइकल बेवारिसे अवस्थामा बरामद गरेको जनाए ।

सुरक्षा टोलीलाई देख्नासाथ तस्कर भरियाहरु फरार भएको र प्रारम्भिक अनुसन्धानबाट उक्त मदिरा रौतहटको मठिया क्षेत्रबाट भारत तर्फ तस्करी गरिएको खुलेको एसएसबीले जनाए । बरामद मदिरा र मोटरसाइकल थप अनुसन्धानका लागि मोतिहारी एक्साइज कार्यालयमा बुझाइएको छ ।

यस्तै अर्को अपरेशनमा एसएसबीको ’सी’ कम्पनी, बीओपी नायकटोला र बिहार प्रहरीको हरपुर प्रहरी चौकीको संयुक्त टोलीले भारतको टोला चिकनी क्षेत्रमा विशेष चेकजाँच सञ्चालन गरेको थियो ।

सीमा स्तम्भ नम्बर ३८७–२ बाट करिब ३.६ किलोमिटर भारततर्फ गरिएको चेकजाँचका क्रममा नेपालबाट मदिरा बोकेर जाँदै गरेका पश्चिम चम्पारणको करमवा गाउँका ४० वर्षीय जयप्रकाश र ३३ वर्षीय अनिल कुमार पक्राउ परेका छन् ।

उनीहरूको साथबाट ४५० बोतल (१३५ लिटर) कस्तुरी नेपाली मदिरा, बीआर–२२ बीई–४५५० नम्बरको हिरो स्प्लेन्डर मोटरसाइकल र ना ९ प ६१५८ नम्बरको होन्डा शाइन मोटरसाइकल बरामद गरिएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार उक्त मदिरा नेपालबाट भारतको करमवा बजारतर्फ तस्करी भइरहेको खुलेको एसएसबीले जनाए । बरामद मदिरा, मोटरसाइकल तथा पक्राउ परेका दुवै व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि हरपुर प्रहरी चौकीमा बुझाइएको छ ।

सीमाक्षेत्रमा मदिरा तस्करीका घटनाहरू बढ्दै गएपछि एसएसबीले नेपाल–भारत सीमामा निगरानी र संयुक्त सुरक्षा अभियानलाई अझ कडा बनाएको जनाए ।

Back to top