एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित थरघटीमा बिहीबार बिहान चट्याङ लाग्दा तीन जना स्थानीयवासी घाइते भएका छन्। राष्ट्रिय वन क्षेत्रसँग जोडिएको स्थानमा बिहान करिब ७:१५ बजे चट्याङ पर्दा उनीहरू घाइते भएको इलाका प्रहरी चौकी रंगपुरटाडीका प्रहरी सहायक निरीक्षक हर्कबहादुर श्रेष्ठले जानकारी दिएका छन्।
घाइते हुनेहरूमा स्थानीय दुःखी महतो धाङड, लालबाबु महतो उराँव र सूर्य महतो उराँव रहेका छन्। उनीहरू घर नजिकै रहेको जंगल छेउमा पशु चौपाया चराइरहेका बेला अचानक परेको चट्याङको चपेटामा परेका थिए।
प्रहरीका अनुसार घाइतेमध्ये सूर्य महतो उराँवको अवस्था गम्भीर रहेको छ। उनको पेट र छातीमा गम्भीर चोट लागेको बताइएको छ। तीनै जनालाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल ल्याइएको छ, जहाँ उनीहरूको उपचार भइरहेको नारायणी अस्पताल प्रहरी बिटले जनाएको छ।
घटनापछि स्थानीयवासी तथा घाइतेका आफन्तले पीडित परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको उल्लेख गर्दै उपचारका लागि सहयोगको अपिल गरेका छन्। उनीहरूले प्राकृतिक विपद्का कारण घाइते भएका विपन्न नागरिकलाई स्थानीय सरकारले तत्काल राहत तथा उपचार खर्च उपलब्ध गराउनुपर्ने मागसमेत गरेका छन्।
स्थानीयवासीले वर्षायाममा चट्याङका घटना बढ्ने भएकाले ग्रामीण क्षेत्रमा जनचेतना अभिवृद्धि र जोखिम न्यूनीकरणका उपाय प्रभावकारी रूपमा लागू गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।