×

वीरगञ्ज । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज उद्योग तथा निजी क्षेत्रका प्रतिनिधिसँग समसामयिक आर्थिक तथा व्यावसायिक विषयमा महत्त्वपूर्ण छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजेका लागि बैठक तय गरिएको छ ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका प्रमुख संस्थाका अध्यक्ष तथा पदाधिकारी सहभागी हुनेछन् । सरकार र निजी क्षेत्रबिच पछिल्लो आर्थिक अवस्था, लगानीको वातावरण, उद्योग–व्यवसायका समस्या तथा समाधानका उपायबारे विस्तृत छलफल हुने जनाइएको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालका अनुसार छलफलमा निजी क्षेत्रसँग सम्बन्धित समसामयिक विषय, आर्थिक गतिविधिमा देखिएको सुस्तता, व्यावसायिक वातावरण सुधार तथा आगामी आर्थिक नीतिमा निजी क्षेत्रका सुझावका विषयमा प्रधानमन्त्रीसँग विचार आदानप्रदान हुनेछ ।

पछिल्लो समय बजारमा देखिएको आर्थिक मन्दी, लगानीमा आएको कमी, उत्पादन तथा व्यापार क्षेत्रमा देखिएका चुनौतीका कारण निजी क्षेत्रले सरकारसँग नियमित संवादको आवश्यकता औँल्याउँदै आएको छ । व्यवसायीहरूले लगानीमैत्री नीति, कर प्रणालीमा सुधार, वित्तीय पहुँच सहज बनाउने तथा निजी क्षेत्रको मनोबल बढाउने खालका नीतिगत निर्णयको माग गर्दै आएका छन् ।

यिनै विषयमा साझा धारणा निर्माण गर्न प्रधानमन्त्री शाहले उद्योगी–व्यवसायीका प्रतिनिधिलाई छलफलका लागि आमन्त्रण गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।

सरकार र निजी क्षेत्रबिच हुने यस छलफललाई मुलुकको आर्थिक गतिविधि चलायमान बनाउन, लगानीको वातावरण सुधार गर्न तथा आगामी आर्थिक नीतिका प्राथमिकता तय गर्न महत्त्वपूर्ण रूपमा हेरिएको छ । बैठकबाट निजी क्षेत्रका सुझावका आधारमा आर्थिक सुधारका थप पहल अघि बढ्ने अपेक्षा गरिएको छ ।

Back to top