वीरगञ्ज । वीरगञ्ज–३ स्थित सेस्मी सेकेन्डरी स्कुलमा ‘सोसाइटी ५.० मा शिक्षकहरू’ विषयक शिक्षक सीप तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ। शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी, व्यावहारिक र समयसापेक्ष बनाउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयका मन्टेस्वरी कक्षादेखि कक्षा १० सम्म अध्यापन गराउने शिक्षक–शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको सभापतित्व विद्यालयकी प्राचार्या आस्मा सिंह यादवले गर्नुभएको थियो भने शिक्षाविद् तथा प्रशिक्षक श्याम साहले सहजीकरण तथा प्रस्तुतीकरण गर्नुभएको थियो।
कार्यक्रमको पहिलो सत्रमा वर्तमान शिक्षा नीतिअनुसार कक्षाकोठामा क्रियाकलापमूलक सिकाइको प्रभावकारी कार्यान्वयन, कक्षा व्यवस्थापन, विद्यार्थी–केन्द्रित शिक्षण विधि तथा शिक्षकको मनोबल अभिवृद्धिसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
त्यसैगरी दोस्रो सत्रमा सहभागी शिक्षक–शिक्षिकाहरूलाई समूहमा विभाजन गरी ‘समस्याको पहिचान र समाधान’ विषयमा कार्यशाला सञ्चालन गरिएको थियो। कार्यशालामा शिक्षण–सिकाइ प्रक्रियामा देखिएका चुनौतीहरूको पहिचान गर्दै तिनका व्यावहारिक समाधानका उपायबारे छलफल गरिएको थियो।
कार्यक्रममा सहभागी शिक्षकहरूले यस्ता क्षमता विकासमूलक कार्यक्रमले शिक्षण पेशालाई अझ प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। साथै, विद्यालय व्यवस्थापनले समय–समयमा यस्ता व्यावसायिक विकाससम्बन्धी कार्यक्रम आयोजना गर्दै आएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए।