एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज, पर्साको छिपहरमाई गाउँपालिकास्थित भिस्वा सीमानाकामा भारतीय नम्बर प्लेटका सवारीसाधनको आवागमन सहज बनाउन तथा छोटी भन्सार तत्काल सञ्चालनमा ल्याउन माग गर्दै स्थानीयवासीले शनिबारदेखि धर्ना तथा आन्दोलन सुरु गरेका छन्।
स्थानीयहरूले बिहानदेखि भिस्वा नाकामा त्रिपाल गाडेर धर्ना दिँदै नेपाल सरकारसँग सीमावर्ती क्षेत्रका नागरिकको दैनिक आवागमनलाई सहज बनाउने गरी भारतीय सवारीसाधन सञ्चालनमा व्यावहारिक व्यवस्था गर्न माग गरेका छन्। उनीहरूका अनुसार सीमा क्षेत्रका बासिन्दाले भारतबाट मोटरसाइकल वा चारपाङ्ग्रे सवारीसाधन लिएर आफन्त तथा नातेदारको घरमा आउँदा नेपाली सुरक्षा निकायले पटक–पटक सोधपुछ, कागजात जाँच तथा अन्य प्रशासनिक झन्झट सिर्जना गर्ने गरेको छ।
आन्दोलनमा सहभागी स्थानीयहरूले सीमावर्ती क्षेत्रको विशेष अवस्थालाई ध्यानमा राख्दै भारतीय सवारीसाधनको आवागमनलाई व्यवस्थित, सहज र व्यावहारिक बनाउनुका साथै लामो समयदेखि बन्द रहेको छोटी भन्सार तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्। उनीहरूका अनुसार हालको व्यवस्थाले सीमावर्ती बासिन्दाको दैनिक जीवन र सामाजिक सम्बन्धमा समेत प्रतिकूल असर परेको छ।
आन्दोलनको जानकारी पाएपछि पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की तथा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकसहितको सुरक्षा टोली घटनास्थल पुगेर स्थानीयसँग छलफल गरेको थियो। छलफलका क्रममा सुरक्षा अधिकारीहरूले आफूहरू प्रचलित नेपाली कानुनअनुसार मात्रै काम गर्न बाध्य रहेको बताएका थिए।
तर स्थानीयवासीले आफ्नो मागका विषयमा कुनै ठोस प्रतिबद्धता वा समाधानको आश्वासन नआएको भन्दै छलफल निष्कर्षविहीन बनेको बताएका छन्। उनीहरूले माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने र आवश्यक परे थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन्।
स्थानीयको भनाइमा सीमावर्ती क्षेत्रका नागरिकले वर्षौंदेखि भोग्दै आएको आवागमनसम्बन्धी समस्या समाधान गर्न सरकारले व्यावहारिक नीति अवलम्बन गर्दै आवश्यक पूर्वाधार र भन्सार व्यवस्थापनमा तत्काल पहल गर्नुपर्ने आवश्यकता रहेको छ।