वीरगञ्ज । पर्साको ठोरी नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय पर्यटकलाई रोक लगाइएको भन्दै ठोरी क्षेत्रका पर्यटन व्यवसायीले सरकारसँग नीति स्पष्ट पार्न माग गरेका छन्। ठोरी पर्यटन विकास समितिका अध्यक्षले भारतीय पर्यटकलाई सीमामै रोकिँदा यस क्षेत्रको पर्यटन व्यवसाय गम्भीर संकटमा परेको बताएका छन्।
उनका अनुसार चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज आसपासको पर्यटकीय गन्तव्य ठोरी घुम्न आएका दर्जनौं भारतीय सवारी साधनलाई सीमा क्षेत्रमा रोकिएको छ। सामाजिक सञ्जालमार्फत पर्यटन प्रवर्द्धन गर्ने तर व्यवहारमा पर्यटकलाई प्रवेश गर्न नदिने नीति विरोधाभासपूर्ण रहेको उनको भनाइ छ।
उनले विगतमा भारतीय पर्यटकले सीमा प्रहरीमा आवश्यक दर्ता गरी सहज रूपमा ठोरी क्षेत्रमा प्रवेश गर्ने व्यवस्था रहेको स्मरण गराउँदै हाल ठोरीको सानो भन्सारसमेत बन्द गरिएकाले पर्यटकलाई करिब ७० किलोमिटर टाढा वीरगञ्ज पुगेर भन्सार प्रक्रिया पूरा गर्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गरे।
पर्यटन विकास समितिका अध्यक्षले सरकारले भारतीय पर्यटकमाथि कुनै प्रकारको अघोषित नाकाबन्दी गरेको हो वा अन्य कुनै नयाँ नीति लागू गरिएको हो भन्ने विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन्। उनका अनुसार यस अवस्थाले ठोरी क्षेत्रमा पर्यटन क्षेत्रमा भएको अर्बौं रुपैयाँको लगानी जोखिममा पर्नुका साथै स्थानीय पर्यटन व्यवसायमा गम्भीर असर पर्ने चिन्ता बढेको छ।
उनले पर्यटनमैत्री वातावरण कायम राख्दै सीमावर्ती क्षेत्रमा भारतीय पर्यटकको सहज आवागमन सुनिश्चित गर्न सरकारसँग तत्काल आवश्यक पहल गर्न आग्रह गरेका छन्।