×

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपालका प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरधामले जिल्ला अदालत महोत्तरीको फैसला आंशिक रूपमा उल्ट्याउँदै पूर्व सांसद लक्ष्मी महतो (कोइरी)सहित ६ जनालाई पाँच वर्ष कैद सजाय सुनाएको छ ।

कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बुधवार उक्त फैसला सुनाएको हो । जिल्ला अदालत महोत्तरीले २८ मङ्सिर २०८० मा सुनाएको फैसलामा केही अभियुक्तलाई सफाइ दिएको तथा केहीलाई जन्मकैद सुनाएको थियो ।

उच्च अदालतले जिल्ला अदालतबाट सफाइ पाएका एमालेका पूर्व प्रतिनिधिसभा सदस्य लक्ष्मी कोइरी महतो र पवन कापरलाई दोषी ठहर गर्दै जनही पाँच वर्ष कैद सजाय सुनाएको छ ।

त्यस्तै, जिल्ला अदालतबाट जन्मकैद सजाय पाएका निलम्बित लोसपा प्रदेश सांसद अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्व मेयर रामशंकर मिश्र, धर्मेन्द्र राय र सुरेश पाण्डेको सजाय घटाएर पाँच वर्ष कायम गरिएको छ । चारै जना हाल फरार रहेका छन् ।

अदालतले उनीहरूले प्रत्यक्ष रूपमा भौतिक आक्रमण गरेको ठोस प्रमाण नदेखिए पनि मुख्य अभियुक्तहरूको बयान र घटनाको समग्र परिस्थितिका आधारमा हत्या गराउने कार्यमा संलग्नता देखिएको ठहर गरेको छ ।

यसैबिच, घटनाका मुख्य अभियुक्त प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरको हकमा जिल्ला अदालतले सुनाएको जन्मकैदको सजाय उच्च अदालतले यथावत् राखेको छ । तत्कालीन मुलुकी ऐनको ज्यानसम्बन्धी महलअन्तर्गत उनीहरूलाई दोषी ठहर गरिएको हो ।

प्रमाण र कानुनी प्रक्रिया

उच्च अदालतले चिकित्सकीय प्रतिवेदन, किटानी जाहेरी, अनुसन्धानका क्रममा दिइएका बयान, एम्बुलेन्स चालक सुशील मिश्रलगायतका साक्षीहरूको बयान तथा घटनास्थलका तस्बिरलाई मुख्य प्रमाण मानेको छ । विशेषगरी सञ्जयकुमार साहले असई विकमाथि आक्रमण गरिरहेको दृश्य देखिने तस्बिरलाई अदालतले बलियो प्रत्यक्ष प्रमाणका रूपमा स्वीकार गरेको छ ।

जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका केही अभियुक्तले पुनरावेदन नगरी फरार भएपछि कानुनअनुसारको समयावधि सकिएपछि उच्च अदालतले स्वतः साधक सुनुवाइ प्रक्रिया अघि बढाएको थियो । न्याय प्रशासन ऐन, २०७३ को दफा १० (४) बमोजिम अभियुक्तका परिवारले निर्दोष रहेको दाबी गर्दै निवेदन दिएका थिए । अढाई वर्षसम्म विभिन्न कारणले रोकिँदै आएको यो मुद्दा ५०औँ पटकको पेसीमा किनारा लागेको हो ।

के थियो घटना ?

२५ भदौ २०७२ मा मधेस आन्दोलनका क्रममा महोत्तरीमा आन्दोलनकारी र प्रहरीबिच झडप भएको थियो । सो क्रममा घाइते भएका असई थमन विकलाई जलेश्वर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत जनकपुर लैजाँदै गर्दा तत्कालीन अनैठा (हाल सनोखडा क्षेत्र) मा आन्दोलनकारीले एम्बुलेन्स रोकेका थिए ।

एम्बुलेन्स अघि बढ्न नसकेपछि घाइतेहरू खेततर्फ लुकेका थिए । त्यसपछि आन्दोलनकारीहरूले उनीहरूलाई बाहिर निकालेर लाठी र ढुङ्गाले साङ्घातिक आक्रमण गरेका थिए । आक्रमणमा परेर असई विकको ज्यान गएको थियो ।

राजनीतिक पृष्ठभूमि

घटनापछि फरार रहेका लक्ष्मी कोइरी महतो २०७९ सालमा महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । फरार अवस्थामै उनले संसदीय गतिविधिमा सहभागिता जनाएको विषयले व्यापक आलोचना खेपेको थियो । जिल्ला अदालतबाट सफाइ पाएपछि उनी संसद् बैठकमा नियमित उपस्थित हुन थालेका थिए । गत फागुनको निर्वाचनमा एमालेले उनलाई पुनः उम्मेदवार बनाएको भए पनि उनी तेस्रो स्थानमा सीमित भएका थिए ।

उच्च अदालतको पछिल्लो फैसलासँगै बहुचर्चित थमन विक हत्या प्रकरणमा कानुनी रूपमा नयाँ मोड आएको छ ।

Back to top