वीरगञ्ज । नेशनल एकेडेमी क्याम्पसको ‘विद्यार्थी विकास कार्यक्रम’ पाँचौं दिन ‘कलेज टु कर्पोरेट (+२ पछि करियर) विषयक विशेष सत्र सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमले विद्यार्थीहरूलाई उच्च शिक्षा पश्चात् करियर निर्माण, व्यक्तिगत विकास तथा व्यावसायिक सफलताका विविध पक्षबारे महत्वपूर्ण जानकारी प्रदान गरेको छ।
कार्यक्रममा क्याम्पसका पूर्वविद्यार्थी जिस्नु बराल र प्रकाश झाले सहजीकरण गर्दै विद्यार्थीहरूलाई शैक्षिक जीवनबाट व्यावसायिक जीवनतर्फको यात्रामा आवश्यक तयारी, चुनौती र अवसरबारे अनुभव आदानप्रदान गरेका थिए।
सहजीकरणका क्रममा वक्ताहरूले अनुशासन, समय व्यवस्थापन, व्यावसायिक दक्षता तथा उद्यमशीलताको महत्वमाथि प्रकाश पार्दै सफल करियरका लागि स्पष्ट लक्ष्य निर्धारण र सही दिशाको छनोट अपरिहार्य रहेको बताए। उनीहरूले प्रतिस्पर्धात्मक युगमा आफूलाई सक्षम र योग्य बनाउन निरन्तर सिकाइ, सकारात्मक सोच तथा व्यवहारिक सीप विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गरे।
वक्ताहरूले विद्यार्थीहरूलाई भविष्यप्रति जिम्मेवार बन्न, आफ्नो रुचि र क्षमताअनुसार करियर योजना बनाउन तथा केवल सैद्धान्तिक ज्ञानमा सीमित नरही व्यवहारिक अनुभव र सीप आर्जनमा ध्यान दिन आग्रह गरेका थिए।
क्याम्पसले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकास तथा भविष्यको करियर निर्माणमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिरहेको ‘विद्यार्थी विकास कार्यक्रम’अन्तर्गतका यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई प्रेरित र उत्साहित बनाएको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले वक्ताहरूका अनुभव र सुझावहरू उपयोगी रहेको बताउँदै यस्ता अन्तरक्रियात्मक तथा प्रेरणामूलक कार्यक्रमले भविष्यको लक्ष्य निर्धारणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।