चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन चितवन पुगेका गृहमन्त्री सुधन गुरुङलाई दिइएको बिहानी खाजाको अम्लेटमा माछाको काँडा भेटिएपछि होटलका दुई कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।
गृहमन्त्री गुरुङ चितवनस्थित लड्स प्लाजा होटलमा बस्दै आएका थिए। बिहानको खाजा खाने क्रममा अम्लेटमा माछाको काँडा फेला परेपछि उनले होटल व्यवस्थापनसमक्ष असन्तुष्टि व्यक्त गरेका थिए।
घटनापछि प्रमुख जिल्ला अधिकारी गणेश अर्याल तथा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेललाई जानकारी गराइएको थियो। त्यसलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली होटलमा पुगेर घटनाबारे अनुसन्धान थालेको थियो।
प्रहरी स्रोतका अनुसार अम्लेट तयार पार्ने जिम्मेवारीमा रहेका दुई कर्मचारीलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय लगिएको थियो।
घटनाबारे प्रतिक्रिया दिँदै एसपी पौडेलले ग्राहकलाई दिइएको खानामा अखाद्य वस्तु भेटिएको विषयमा तथ्य र वास्तविकता बुझ्न सम्बन्धित कर्मचारीसँग सोधपुछ गरिएको बताए। उनले प्रारम्भिक अनुसन्धान सम्पन्न भएपछि कानुनी प्रक्रिया अनुसार उनीहरूलाई छाडिने जानकारी समेत दिएका छन्।
यस घटनाले रास्वपाको महाधिवेशन चलिरहेका बेला चितवनमा केही समय चर्चा पाएको थियो। उता होटल व्यवस्थापनले पनि घटनाबारे आन्तरिक छानबिन सुरु गरिएको जनाएको छ।
प्रहरीले घटनाको प्रकृति, लापरवाही वा अन्य कुनै कारण रहेको हो वा होइन भन्ने विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।