×

वीरगञ्ज।  वीरगञ्ज क्षेत्रमा सरकारले सञ्चालन गरेको घर तथा संरचना हटाउने अभियानबाट प्रभावित स्थानीय बासिन्दाहरूले शनिबार साँझ सिटी जुलुस निकालेर शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्।

आदर्शनगर चोकबाट सुरु भएको जुलुसमा प्रभावित परिवारका सदस्यहरू तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। जुलुस घण्टाघरसम्म पुगेर कोणसभामा परिणत भएको थियो, जहाँ सहभागीहरूले आफ्ना मागहरू सार्वजनिक रूपमा प्रस्तुत गरेका थिए।

प्रदर्शनकारीहरूले सरकारी निकायको हटाउने कार्यका क्रममा आफ्ना घर तथा संरचनामा क्षति पुगेको दाबी गर्दै तत्काल पुनर्वास, उचित क्षतिपूर्ति र वैकल्पिक व्यवस्थाको माग गरेका छन्। उनीहरूका अनुसार पर्याप्त तयारी र व्यवस्थापनबिना गरिएको कारबाहीले देशकै प्रवेशद्वार तथा आर्थिक नगरीका रूपमा परिचित वीरगञ्जको ऐतिहासिक पहिचानमाथि समेत असर पुर्‍याएको छ।

स्थानीयवासीहरूले यस्तो कार्यले आफूहरूको दैनिकी र जीविकोपार्जनमा गम्भीर समस्या सिर्जना गरेको भन्दै मानवतामूलक समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।

सिटी जुलुसका क्रममा सहभागीहरूले “हाम्रो घर सुरक्षित गर”, “डोजर आतंक बन्द गर”, “सुकुम्बासी बनाउन पाइँदैन”, “जनतालाई उठीबास गराउन बन्द गर”, “हामीलाई न्याय चाहिन्छ”, “मेन रोडलाई सहरी सडक घोषणा गर” तथा “ऐतिहासिक शहरको सम्मान गर” लगायतका नारा लगाएका थिए।

कोणसभामा वक्ताहरूले प्रभावित परिवारको उचित व्यवस्थापन नभएसम्म संघर्षका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएका छन्। उनीहरूले सम्बन्धित निकायलाई संवादमार्फत समस्याको समाधान खोज्न समेत आग्रह गरेका छन्।

Back to top