इजरायल र हिजबुल्लाहबीच नयाँ युद्धविरामको सहमति भएको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन्। दक्षिणी लेबनानमा ४७ जनाको ज्यान जाने गरी इजरायलले गरेको भीषण हवाई आक्रमण र हिजबुल्लाहको प्रतिआक्रमणपछि यो सहमति सार्वजनिक भएको हो।
यी पछिल्ला भिडन्तहरूले अमेरिका र इरानबीचको ठुलो युद्ध अन्त्य गर्ने सम्झौतालाई असफल बनाउन सक्ने चिन्ता उत्पन्न भएको थियो। यसअघि लेबनानमा भएको भिडन्तमा हिजबुल्लाहले चार इजरायली सैनिकको हत्या गरेको थियो।
बीबीसीका अनुसार इजरायली सेनाले युद्धविराम लागू भएको पुष्टि त गरेको छ, तर सेनाका प्रवक्ताले आफ्ना बलहरूले तात्कालिक खतराहरू हटाउन जारी राख्ने बताएका छन्। हिजबुल्लाहले आधिकारिक रूपमा युद्धविरामको पुष्टि गरिसकेको छैन, तर संगठनका महासचिव शेख नइम कासिमले भनेका छन्, ’हिजबुल्लाहलाई समाप्त पार्ने (इजरायलको) योजना असफल भएको छ।’
रेस्क्यु अधिकारीहरूका अनुसार युद्धविराम शुरू भएयता लेबनानको नबातीह सहरमा मात्रै कम्तीमा १२ पटक इजरायली हवाई आक्रमण भइसकेको छ। घातक तनावले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको सम्झौता र परिस्थितिलाई पूर्ण नियन्त्रणमा राख्न असफल भइरहेको संकेत गर्दछ।
यसअघि ट्रम्पको मध्यस्थतामा भएको समझदारी पत्रमा लेबनानका साथै अमेरिका र इरानबीच पनि युद्धविरामको घोषणा गरिएको थियो। तर, जमिनमा त्यो लागू हुन नसकेपछि तेहरानले ट्रम्पमाथि इजरायललाई नियन्त्रणमा राख्न नसकेको आरोप लगाएको छ।
ट्रम्प आफैँले पनि आफ्ना सहयोगी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि हिजबुल्लाहविरुद्धको लडाइँका नाममा विनाकारण सर्वसाधारणको हत्या गरेको अभूतपूर्व आरोप लगाएका छन्।
ह्वाइट हाउसले युद्धविराम लागू भएको दाबी गरिरहँदा इजरायलका कट्टर दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गभिरले इजरायली सैनिकहरूको मृत्युको बदला लिने धम्की दिएका छन्।
जवाफमा इरानी विदेशमन्त्री अब्बास अराघचीले इजरायल स्थायी युद्ध चाहन्छ भन्दै सम्झौता उल्लंघनको सबै जिम्मेवारी अमेरिकाले लिनुपर्ने चेतावनी दिएका छन्। विस्थापित लेबनानी नागरिकहरूले भने युद्धविरामको खबरलाई शङ्काको नजरले हेरेका छन्।
अमेरिकी विदेश मन्त्रालयका अनुसार स्थायी शान्ति कायम गर्ने उद्देश्यका साथ आगामी हप्ता वासिङ्टनमा लेबनानी सरकार र इजरायलबीच प्रत्यक्ष वार्ता पुनः शुरू हुनेछ। लेबनानी राष्ट्रपति जोसेफ औनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग कुरा गर्दै वासिङ्टन वार्तालाई अगाडि बढाउन लेबनानी भूभागमा इजरायली आक्रमण पूर्ण रूपमा बन्द हुनुपर्ने सर्त राखेका छन्।
इरानका सर्वोच्च नेताको हत्याको बदलामा हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेपछि लेबनान पनि इजरायल, अमेरिका र इरानबीचको युद्धमा तानिएको थियो। जवाफमा इजरायलले लेबनानभर बमबारी गर्नुका साथै हिजबुल्लाह लडाकुहरूलाई आफ्नो उत्तरी सीमाबाट पछि धकेल्ने उद्देश्यले दक्षिणी लेबनानको करिब ५ प्रतिशत भूभाग कब्जा गरेको छ।