एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले अमेरिका र इरानबिच भएको सम्झौता औपचारिक रूपमा लागू भएको बताएका छन् । सम्झौता अनुसार इरानले तुरुन्तै होर्मुज जलमार्ग खोल्नेछ भने अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाइएको नौसैनिक नाकाबन्दी तत्काल हटाउनेछ ।
प्रधानमन्त्री शरीफले सामाजिक सञ्जालमार्फत दुई देशले विश्वास पुनः स्थापना र तनाव घटाउने दिशामा पहिलो कदम चालेको उल्लेख गरेका छन् । उनले शुक्रवार स्विट्जरल्याण्डमा पाकिस्तान र कतारको संयुक्त आयोजनामा एक कार्यक्रम हुने जानकारी दिँदै त्यहाँ सम्झौताबारे छलफल तथा थप प्राविधिक वार्ता सुरु गरिने बताए ।
यद्यपि, इरानको विदेश मन्त्रालयले शुक्रवार प्रस्तावित अमेरिका–इरान बैठक हुन पनि सक्छ वा नहुन पनि सक्ने सङ्केत गरेको छ । दुवै देशका राष्ट्रपतिले समझदारी पत्रमा हस्ताक्षर गरिसकेको अवस्थामा औपचारिक समारोह आवश्यक नपर्न सक्ने जनाइएको छ ।
इरान र अमेरिकाबिच जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहित तयार गरिएको समझदारी पत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेशकियानले हस्ताक्षर गरेका छन् । इरानी विदेश मन्त्रालय र ह्वाइट हाउसले उक्त समझदारी पत्रमा डिजिटल माध्यमबाट हस्ताक्षर भएको पुष्टि गरेका छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईका अनुसार हस्ताक्षर डिजिटल रूपमा सम्पन्न भइसकेकाले जेनेभामा औपचारिक हस्ताक्षर समारोह आयोजना नहुने भएको हो ।
सम्झौताअनुसार आगामी ६० दिनभित्र इरानको आणविक कार्यक्रम तथा प्रतिबन्ध फुकुवासम्बन्धी विषयमा केन्द्रित वार्ता अघि बढाइनेछ । राष्ट्रपति ट्रम्पले भने उक्त समयसीमा अन्तिम नभएको स्पष्ट पारेका छन् ।
ह्वाइट हाउसका अधिकारीहरूका अनुसार इरानको पूर्वाधार पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि ३०० अर्ब अमेरिकी डलर बराबरको कोष स्थापना गर्ने प्रस्ताव गरिएको छ । उक्त कोषमा मुख्यतः इरानका छिमेकी तथा क्षेत्रीय साझेदार राष्ट्रहरूले लगानी गर्ने अपेक्षा गरिएको छ ।
यो सम्झौतालाई मध्यपूर्वमा दीर्घकालीन शान्ति स्थापनातर्फको महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ ।