वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
बुधवार आयोजित सखुवा प्रसौनी गाउँपालिकाको गाउँसभा तथा १७औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको हो ।
गाउँपालिका अध्यक्ष यसवन्त यादवले उद्घाटन गरेको गाउँसभा तथा १७ ओं अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ट महतोले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिन् ।
उनले गाउँपालिकाको ल्याएको नीति तथा कार्यक्रमले लिएका लक्ष्य कार्यान्वयन गर्नका लागि आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४६ करोड ३७ लाख ८२ हजार ५२० रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिन् ।
बजेटमा आयतर्फ सशर्त अनुदानबाट २१ करोड १६ लाख रुपैयाँ, समपूरक अनुदानबाट १ करोड ४५ लाख रुपैयाँ, विशेष अनुदानबाट ४६ लाख रुपैयाँ, आन्तरिक स्रोतबाट ५३ लाख रुपैयाँ, वित्तीय समानीकरण अनुदानबाट ११ करोड ६४ लाख ६२ हजार रुपैयाँ तथा राजस्व बाँडफाँडबाट ११ करोड १३ लाख २० हजार ५२० रुपैयाँ प्राप्त हुने अनुमान गरिएको उल्लेख छ ।
उनले बजेट तथा कार्यक्रमको विस्तृत विवरण गाउँपालिका विकास योजनाको पुस्तिकामार्फत प्रकाशन गरिने समेत जानकारी दिइन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सञ्जीव कुमार यादव, वडाध्यक्षहरू, गाउँ कार्भायपालिका सदस्यहरू, गाउँपालिकाका कर्मचारीहरू लगायताको पनि सहभागिता रहेको थियो ।
बुधवार बजेट सार्वजनिक गरेको सखुवा प्रसौनी गाउँपालिका आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने पर्सा जिल्लाकै पहिलो पालिका समेत बनेको छ ।
यसअघि पर्साका तीन वटा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम मात्र सार्वजनिक गरेका छन् । बुधवार नै पटेर्वा सुगौली गाउँपालिकाले पनि नीति तथा कार्यक्रम प्रस्तुत गरेको भए पनि बजेट भने सार्वजनिक गरेन ।