वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–४ स्थित बाल सुधार गृहबाट फरार भएका दुई जना बालकलाई प्रहरीले डेढ घण्टाभित्रै पक्राउ गरेको छ। डाका तथा चोरी मुद्दामा सजाय भुक्तानका लागि बाल सुधार गृहमा राखिएका दुवै बालक शुक्रबार दिउँसो शौचालयको भेन्टिलेसन फुटाई फरार भएका थिए।
पक्राउ पर्नेहरूमा मलङ्गवा नगरपालिका–३ निवासी वशिर साहका १० वर्षीय छोरा नौसाद साह र सहिद साहका ११ वर्षीय छोरा नजिर साह रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरू दिउँसो करिब १:२० बजे बाल सुधार गृहको पूर्वतर्फ रहेको भवनको माथिल्लो तलास्थित शौचालयको भेन्टिलेसन फुटाएर सुरक्षाकर्मीको निगरानी छल्दै भागेका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साले विशेष प्रहरी टोली परिचालन गरी व्यापक खोजतलास सुरु गरेको थियो। खोजी अभियानका क्रममा दिउँसो करिब ३:३० बजे नेपाल–भारत सीमा क्षेत्रस्थित मितेरी पुल नजिक भारततर्फ जान लागेका अवस्थामा दुवै बालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै बालकलाई पुनः बाल सुधार गृहमा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीको तीव्र खोजी अभियानका कारण फरार भएका बालकहरू छोटो समयमै फेला परेका हुन्। सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा समेत सम्बन्धित निकायले आवश्यक समीक्षा गर्ने बताइएको छ।