×

मुम्बई । दक्षिण भारतीय सुपरस्टार राम चरणको नयाँ फिल्म ‘पेद्दी’ ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । प्रदर्शनको ९ दिनमै फिल्म सन् २०२६ मा सबैभन्दा बढी कमाउने साउथ इन्डियन फिल्म बन्न सफल भएको छ ।

‘पेद्दी’ को वर्ल्ड प्रिमियर ३ जुन २०२६ मा भएको थियो भने यो फिल्म ४ जुन २०२६ मा विश्वभर रिलिज गरिएको थियो । रिलिजको पहिलो दिनदेखि नै हलहरूमा आक्रामक कमाइ गरिरहेको यस फिल्मले ९ दिनमा विश्वभरबाट ३६६ करोड भारतीय रुपैयाँ भन्दा बढी कलेक्सन गरिसकेको छ ।

बुच्ची बाबु सनाको लेखन तथा निर्देशन रहेको फिल्ममा राम चरणको अलवा शिवा राजकुमार, जाह्नवी कपुर, दिव्येंदु शर्मा र जगपति बाबुको मुख्य भूमिका छ । फिल्मलाई वेंकट सतीश किलारूले ‘वृद्धि सिनेमाज’ को ब्यानरमा निर्माण गरेको हो ।

माइथ्री मुभी मेकर्स र आईभीवाई इन्टरटेनमेन्टले पनि सहकार्य गरेको फिल्मलाई भारतमा जियो स्टुडियोजले रिलिज गरेको हो, जसले यसअघि ‘धुरन्धर’, ‘धुरन्धर द रिभेन्ज’ र ‘राजा शिवाजी’ जस्ता सफल फिल्महरू वितरण गरिसकेको छ।

फिल्म खेलकुदको पृष्ठभूमिमा आधारित छ। यसमा खेल जगतमा संघर्ष गर्दै अघि बढ्ने एक युवकको कथा देखाइएको छ, जसले आफ्नो यात्रामा कडा प्रतिद्वन्द्विता, सम्मान र अपेक्षाहरूको दबाब सामना गर्नुपर्ने हुन्छ । फिल्ममा राम चरणले कुस्तीबाजको भूमिका निर्वाह गरेका छन् ।

Back to top