अभिनेत्री मधु शाहले हालै फिल्म ‘यशवन्त’ को सुटिङसँग जोडिएको एउटा रोचक किस्सा साझा गरेकी छन्।
फिल्मको एक दृश्य छायाङ्कनका क्रममा अभिनेता नाना पाटेकरले आफूलाई सचिक्कै थप्पड हानेको र त्यसको जवाफमा आफूले पनि नानालाई वास्तविक रूपमै थप्पड हानेकाे उनले खुलासा गरेकी छन् ।
‘हिन्दी रश’ लाई दिएको अन्तर्वार्तामा मधुले बताएअनुसार यशवन्तको एउटा दृश्यमा उनले रुनुपर्ने थियो। सो दृश्यका लागि उनी ग्लिसरिन प्रयोग गर्न चाहन्थिन्, तर नाना पाटेकर यसको पक्षमा थिएनन्। नाना कलाकारले भावनालाई भित्रैदेखि महसुस गरोस् र प्राकृतिक रूपमा अभिनय गरोस् भन्ने चाहन्थे।
मधुले भनिन्, ‘उनले दृश्यको क्रममा मलाई सचिक्कै थप्पड हानिदिए। मेरो आँखाबाट वास्तवमै आँसु निस्कियो। मलाई धेरै रिस उठ्यो, किनभने रिहर्सलका क्रममा उनले कहिल्यै त्यसो गरेका थिएनन्। टेकका बेला उनले मलाई पूर्ण रूपमा चकित पारिदिए। म त्यतिबेला धेरै रिसाहा केटी थिएँ र सायद आज पनि छु। त्यसैले मलाई सहिनसक्नु रिस उठ्यो र मैले पनि उनलाई सचिक्कै थप्पड हानिदिएँ ।’
मधुका अनुसार यो फिल्मको एउटा निकै महत्त्वपूर्ण दृश्य थियो र निर्देशक अनिल मट्टुले यसको छायाङ्कनका लागि पूरा एक दिन छुट्याएका थिए। तर अचानक भएको यो बदलावका कारण दृश्य सोचेभन्दा निकै चाँडो पूरा भयो। यो दृश्य अत्यन्तै प्राकृतिक देखिएकाले आधा दिनमै काम सकिएको उनले बताइन्।
यो घटनाका बावजुद नाना पाटेकरले कहिल्यै आफ्नो अनादर नगरेको मधुले स्पष्ट पारेकी छन्। उनका अनुसार नाना अभिनयलाई लिएर मात्र कडा थिए र कलाकारले आफ्नो चरित्रलाई पूर्ण रूपमा महसुस गरेर निभाओस् भन्ने चाहन्थे। नानासँग काम गर्दा आफूले मेथड एक्टिङका धेरै कुरा सिक्ने मौका पाएको उनले उल्लेख गरिन्।
मधु चाँडै नै फिल्म ‘गभर्नर’ मा देखिँदैछिन्। विपुल अमृतलाल शाहद्वारा निर्मित यो फिल्म १२ जुनमा सिनेमाघरहरूमा रिलिज हुने तय भएको छ। मधुले आफ्नो करियरमा ‘फूल और कांटे’, ‘रोजा’, ‘अल्लारी प्रियुडु’, ‘योद्धा’ र ‘जेन्टलम्यान’ जस्ता चर्चित फिल्महरूमा अभिनय गरिसकेकी छन्।