×

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले जिल्ला कार्यसमितिको बैठकबाट महत्त्वपूर्ण सङ्गठनात्मक निर्णयहरू गर्दै तुलसा पौडेल अधिकारीलाई जिल्ला कोषाध्यक्ष तथा कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ ।

शनिवार जिल्ला सभापति हरि पन्तको अध्यक्षतामा बसेको बैठकले अधिकारीलाई उक्त दोहोरो जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो । जिल्ला सचिव सुदिश प्रजापतिद्वारा जारी निर्णयअनुसार उनलाई जिल्ला कोषाध्यक्षमा मनोनीत गर्नुका साथै कार्यवाहक सभापतिको जिम्मेवारीसमेत सुम्पिएको छ ।

हालै सम्पन्न जिल्ला अधिवेशनमा महिलातर्फ सर्वाधिक मत प्राप्त गर्दै लोकप्रिय बनेकी अधिकारीलाई पार्टी नेतृत्वले थप विश्वास व्यक्त गर्दै महत्त्वपूर्ण जिम्मेवारी दिएको जनाएको छ । रास्वपा पर्साका एक पदाधिकारीका अनुसार सङ्गठनको आर्थिक व्यवस्थापन सुदृढ बनाउनुका साथै नेतृत्व तहमा महिलाको सहभागिता बढाउने उद्देश्यले उनलाई उक्त जिम्मेवारी दिइएको हो ।

जिम्मेवारी प्राप्त गरेपछि अधिकारीले पार्टी नेतृत्वप्रति आभार व्यक्त गर्दै आफूलाई गरिएको विश्वासलाई कायम राख्ने प्रतिबद्धता जनाएकी छन् । उनले जिल्ला सभापति हरि पन्तलगायत सम्पूर्ण नेतृत्वप्रति धन्यवाद दिँदै पार्टी सङ्गठनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सक्रियतापूर्वक काम गर्ने बताएकी छन् ।

यसैबिच बैठकले जिल्ला अनुशासन आयोग बाहेक जिल्लामा रहेका सबै विभागहरू खारेज गरी पुनर्गठन गर्ने निर्णय पनि गरेको छ । पार्टी सङ्गठनलाई थप प्रभावकारी र सुदृढ बनाउन विभागहरूको पुनर्गठन गरिने जनाइएको छ ।

रास्वपा पर्साले महिला नेतृत्वलाई अग्रपङ्क्तिमा ल्याउने रणनीतिअनुरूप अधिकारीलाई महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरिएको जनाएको छ । पार्टीभित्र उनको सक्रियता, सङ्गठन विस्तारमा देखाएको योगदान तथा अधिवेशनमा प्राप्त जनसमर्थनका आधारमा उक्त निर्णय गरिएको नेताहरूले बताएका छन् ।

Back to top