×

वीरगञ्ज । समावेशी शिक्षा तथा सामुदायिक सेवाप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै गौतम विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्था (गौतम समाज कल्याण समाज) ले वीरगञ्ज महानगरपालिका बहिरा विद्यालयलाई आवश्यक सामग्री सहयोग गरेको छ।

विद्यालयको शैक्षिक वातावरण तथा विद्यार्थीहरूको दैनिक जीवनयापनलाई सहज बनाउन विद्यालयबाट प्राप्त अनुरोधलाई मध्यनजर गर्दै संस्थाले ५ थान खाट र १२ थान पङ्खा सहयोगस्वरूप उपलब्ध गराएको हो। उक्त सामग्रीहरू मिति २०८३ जेठ २९ गते आयोजित एक औपचारिक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा बहिरा विद्यालयका प्रधानाध्यापक सगुन श्रेष्ठ, दोभाषे जानकी थापा मगर तथा विद्यालयका विद्यार्थीहरूको उपस्थिति रहेको थियो। त्यसैगरी गौतम समाज कल्याण संस्थाका अध्यक्ष गणेश क्षेत्री, सचिव रमेश शर्मा तथा दिनेश क्षेत्री लगायतको सहभागिता रहेको थियो।

सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका प्रतिनिधिहरूले शिक्षाको पहुँचलाई अझ प्रभावकारी र समावेशी बनाउन सामाजिक संस्थाहरूको भूमिका महत्वपूर्ण रहने बताए। यस्ता सहयोगात्मक कार्यले विशेष आवश्यकता भएका विद्यार्थीहरूको अध्ययन-अध्यापनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको थियो।

गौतम समाज कल्याण संस्थाले भविष्यमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक कल्याणका क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Back to top