वीरगञ्ज । नेपाल–भारतबीच निर्माणाधीन सीमापार रेलवे परियोजनाहरूको प्रगति समीक्षा तथा नयाँ रेलमार्ग विस्तारका विषयमा काठमाडौंमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ।
भारतीय दूतावासका अनुसार जेठ २८ र २९ गते आयोजित १०औँ परियोजना निर्देशक समिति (पीएससी) र ८औँ संयुक्त कार्यदल (जेडब्लूजी) को बैठकमा सञ्चालनमा रहेका तथा प्रस्तावित रेल परियोजनाहरूको विस्तृत समीक्षा गरिएको हो।
बैठकमा भारत सरकारको अनुदान सहयोगमा निर्माणाधीन जयनगर–विजलपुरा–बर्दिबास तथा जोगवनी–विराटनगर ब्रोडगेज रेलवे लाइन को कार्यान्वयन अवस्थाबारे विस्तृत छलफल भएको थियो। साथै सीमापार रेल सेवा विस्तार र नेपाल–भारतबीचको रेल सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत विचार–विमर्श गरिएको भारतीय दूतावासले जनाएको छ।
छलफलका क्रममा जनकपुर–अयोध्या यात्रु रेल सेवा सञ्चालनका लागि आवश्यक प्रक्रिया, रक्सौल–काठमाडौं ब्रोडगेज रेलवे लिंकको अन्तिम सर्वेक्षण प्रतिवेदन, पूर्व–पश्चिम रेलवे परियोजनाका लागि प्राविधिक सहयोग तथा थप सीमापार रेलमार्ग विकासका सम्भावनाबारे पनि समीक्षा गरिएको थियो।
भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतको विदेश मन्त्रालयका सहसचिव रोहित रथीश ले गरेका थिए भने भारतको रेल मन्त्रालयका कार्यकारी निर्देशक प्रदीप ओझा पनि बैठकमा सहभागी थिए।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशील बाबु ढकाल ले गरेका थिए। नेपाली पक्षले निर्माणाधीन रेलमार्गका बाँकी खण्डहरूको काम शीघ्र अघि बढाउन आवश्यक सहजीकरण र समन्वय उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।
नेपाल–भारतबीचको रेल सम्पर्क विस्तार, सहज आवागमन, व्यापार प्रवर्द्धन तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने दिशामा उक्त बैठकलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।