एसियाली राष्ट्र साउदी अरेबियाका लागि सन् २०२६ को विश्वकप सातौँ सहभागिता हुनेछ। सन् १९९४ को विश्वकपबाट आफ्नो विश्वकप यात्रा सुरु गरेको साउदी अरेबियाले पहिलो सहभागितामै सनसनीपूर्ण नतिजा निकाल्दै अन्तिम १६ सम्मको यात्रा बनाएको थियो। त्यसपछि खेलेका अरु ५ संस्करणमा भने साउदीले समूहचरण पार गर्न सकेको छैन।
१९९४ को अमेरिकामा भएको विश्वकपमा पहिलो खेल नेदरल्याण्ड्ससँग २–१ ले हारेपनि त्यसपछिका समूहचरणका दुबै खेलमा सुखद नतिजा ल्यायो। साउदी अरेबियाले मोरक्कोलाई २–१ ले तथा बेल्जियमलाई १–० ले हरायो। अन्तिम १६ को खेलमा स्वीडेनसँग ३–१ ले हार्न पुग्यो। सन् १९९८ को फ्रान्समा भएको विश्वकपमा दक्षिण अफ्रिकासँग बराबरी खेलेपनि डेनमार्कसँग १–० ले र फ्रान्ससँग ४–० ले हार्दै साउदी अरब समूहचरणबाटै घर फर्कियो।
सन् २००२ को विश्वकपमा क्यामरुनसँग १–० ले , रिपब्लिक आयरल्याण्डसँग ३–० ले हारेको साउदी अरब निरिह हुँदै जर्मनीसँग ८–० ले स्तब्ध बन्यो। यसैगरी सन् २००६ मा युक्रेन र स्पेनसँग हारेको साउदीले ट्युनेसियालाई बराबरीमा रोक्यो। सन् २०१० र २०१४ मा विश्वकपमा छनौट हुन असफल साउदी अरेबियाले सन् २०१८ को विश्वकपमा स्थान बनाएपनि समूहचरणबाट माथि उठ्न सकेन।
उसले इजिप्टलाई २–१ ले हराएपनि आयोजक रसियासँग ५–० र उरुग्वेसँग १–० ले हार्न पुग्यो। सन् २०२२ को विश्वकपमा अर्जेन्टिनालाई २–१ ले हराएर सनसनी मच्चाएको साउदी अरेबिया त्यसपछिका दुबै खेलमा पराजित भयो। साउदी अरब पोल्याण्ड र मेक्सिको दुबैसँग हार भोग्न बाध्य भयो।
इसपाली समूह एचमा रहेको साउदी अरबले दुई विश्व विजेता स्पेन र उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ।
साथै अफ्रिकी महादेशको नवप्रवेशी केपे भेर्डेसँग पनि खेल्नेछ। सन् २०१० मा स्पेनले विश्वकप जित्दा उरुग्वे चौथो भएको थियो। विश्वकपको इतिहासमा पहिलो संस्करण १९३० र चौथो संस्करणको १९५० को विश्वकप उरुग्वेले जितेको थियो। साउदी अरब अप्रत्यासीत नतिजा पनि निकाल्न सक्ने टिम भएकाले राम्रो नतिजाको अपेक्षा गरिएको छ।