×

वीरगञ्ज । विश्व वातावरण दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपालले वीरगञ्ज महानगरपालिका–४ स्थित गणेशमान सिंहको शालिक तथा आसपासको क्षेत्रमा सरसफाइ एवं वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

विश्व वातावरण दिवसको अवसरमा सञ्चालन गरिएको साताव्यापी कार्यक्रमअन्तर्गत आयोजित उक्त कार्यक्रममा गणेशमान चोक परिसरको सरसफाइ गर्नुका साथै त्यहाँ रहेका रुखबिरुवाको काटछाँट गरी व्यवस्थित बनाउने कार्य गरिएको थियो। साथै परिसरमा पाँच वटा बिरुवा रोपेर हरियाली प्रवर्द्धनको सन्देश समेत दिइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहले वातावरण, वनस्पति, जीवजन्तु तथा पशुपक्षीप्रति माया, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष विश्व वातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको बताए। उनले एक दिनअघि विश्व वातावरण दिवसको अवसरमा वीरगञ्जस्थित ऐतिहासिक तथा धार्मिक स्थल भिस्वा डाँडा परिसरमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए।

अध्यक्ष सिंहले वातावरण स्वच्छ र स्वस्थ रहे मात्र मानव जीवन सुरक्षित र स्वस्थ रहने उल्लेख गर्दै सबै नागरिकलाई आफ्नो वरिपरि रहेका रुखबिरुवा, नदी, नाला, पोखरी तथा सार्वजनिक स्थलहरू सफा राख्न र संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।

कार्यक्रममा समाजसेवी भगवान श्रेष्ठ, हुकुम सिंह राजपूत, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, प्रतिष्ठानका सहसचिव अभिनाश झा, सदस्यहरू केदार गुप्ता, राहुल सिंह तथा रिम खबर नेपालका सञ्चालक आकाश पटेललगायतको सहभागिता रहेको थियो।

आयोजकका अनुसार वातावरण संरक्षण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको साताव्यापी कार्यक्रमअन्तर्गत विभिन्न स्थानमा सरसफाइ, वृक्षारोपण तथा सचेतनामूलक गतिविधिहरू सम्पन्न गरिएका छन्।

Back to top