वीरगञ्ज । पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
नागरिकता लिखत किर्ते सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका मेयर सिंहलाई अदालतले मङ्गलवार अपराह्न धरौटीमा छाड्न आदेश दिएको हो । सिंहका प्रेस सल्लाहकार नवराज फुयाँलले सामाजिक सञ्जाल फेसबुकमार्फत उनको रिहाइबारे जानकारी दिएका छन् ।
नागरिकता लिखतसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतले जेठ १२ गते मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही अनुसार मङ्गलवार बिहान पर्साको ठोरी गाउँपालिका–२ स्थित ठोरी जङ्गल रिसोर्टबाट प्रहरीले उनलाई नियन्त्रणमा लिई अदालतमा उपस्थित गराएको थियो ।
मुख्य न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासमा मेयर सिंहको बयान लिइएको थियो । बयानपछि भएको थुनछेक बहसपश्चात् अदालतले झुटा विवरण पेस गरी नागरिकता बनाएको कसुरमा १५ हजार रुपैयाँ र लिखतसम्बन्धी कसुरमा ४ लाख रुपैयाँ गरी कुल ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको श्रेस्तेदार प्रभाकर मल्लिकले जानकारी दिए । अदालतको आदेशअनुसार धरौटी रकम बुझाउने प्रक्रिया जारी रहेको फुयाँलले बताए ।
थुनछेक बहसका क्रममा जाहेरवाला वीरगञ्ज–३ का लियाकत अलीको तर्फबाट जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) मनोज गुप्ता तथा अधिवक्ताहरू दिननाथ प्रसाद चौरसिया, विनय सिंह, रमेश प्रसाद, चन्द्रिका पटेल, मेराज मियाँ र सन्तोष श्रीवास्तवले बहस पैरवी गरेका थिए । मेयर सिंहको तर्फबाट अधिवक्ताहरू रामेश्वर सेढाईं, कमल मोहन पोखरेल, प्रमोद प्रसाद, अरुण ज्ञवाली र शिवबहादुर कोइरालाले बहस गरेका थिए ।
अदालतले नागरिकता लिखतसम्बन्धी मुद्दामा मेयर सिंह, उनकी कान्छी श्रीमती तथा सिन्धुपाल्चोकको इन्द्रावती नगरपालिकाकी रिता भट्टराई र वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।
मेयर सिंहले रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नो छोरी बनाई फर्जी जन्मदर्ताको आधारमा नागरिकता बनाएको आरोप छ । यद्यपि, मेयर सिंहले भट्टराई आफ्नी दोस्रो श्रीमती भएको दाबी गर्दै आएका छन् ।
वीरगञ्ज–३ का लियाकत अलीले २०८० साल माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरुद्ध सरकारी कागजात किर्ते र नागरिकता किर्ते विषयमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा चार वटा मुद्दा दर्ता भएकोमा लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
यसअघि पक्राउ पुर्जी जारी भएको भोलिपल्ट जेठ १३ गते मेयर सिंह आफैँ अदालतमा उपस्थित भएका थिए । तर मुद्दाको चाप बढी भएका कारण त्यस दिन सुनुवाइ हुन नसक्ने जानकारी पाएपछि उनी फर्किएका थिए ।