×

वीरगञ्ज । स्वर्गीय पूर्व राजा वीरेन्द्र शाहको स्मृतिमा वीरगञ्जमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । राजभक्त देशभक्त केन्द्रीय कार्यालय वीरगञ्जको आयोजनामा वीरगञ्ज महानगरपालिका–७ स्थित हनुमान मन्दिर प्राङ्गणमा कार्यक्रम आयोजना गरिएको हो ।

नारायणहिटी राजदरबार हत्याकाण्डको स्मरणमा आयोजित श्रद्धाञ्जली सभामा सहभागीहरूले स्वर्गीय राजा वीरेन्द्र शाहप्रति श्रद्धासुमन अर्पण गरेका थिए । कार्यक्रम राजभक्त देशभक्तका केन्द्रीय अध्यक्ष दीपेन्द्र प्रसाद रौनियारको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा वक्ताहरूले नारायणहिटी राजदरबार हत्याकाण्डको सत्यतथ्य पूर्ण रूपमा सार्वजनिक हुनुपर्ने तथा घटनासँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन र न्यायको अपेक्षा रहेको धारणा व्यक्त गरेका थिए । उनीहरूले स्वर्गीय राजा वीरेन्द्र शाहको शासनकालमा शान्ति, स्थायित्व तथा जनहितका पक्षमा भएका कार्यहरूको स्मरणसमेत गरेका थिए ।

श्रद्धाञ्जली सभामा पशुपति विक्रम शाह, महेन्द्रप्रसाद शाह, वीरेन्द्र थापा, रामनारायण शाह, जनकलाल शाह, जयनारायण गौरो, अनुराणा, रञ्जन कुमार, रोशनी शाह, भीष्मा यादवलगायत शुभेच्छुक तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले स्वर्गीय राजा वीरेन्द्र शाहप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानको स्मरण गरेका थिए ।

Back to top