×

वीरगञ्ज । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुर तथा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली–श्रीपुरको आयोजनामा लागूऔषध नियन्त्रण तथा सचेतनामूलक अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

वीरगञ्ज महानगरपालिका–११ श्रीपुर टोलस्थित श्री नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालयमा आयोजित “लागूऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान–२०८३” सम्बन्धी अनुशिक्षण कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थी, शिक्षक–शिक्षिका तथा विद्यालय प्रशासनको सहभागिता रहेको थियो ।

कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी सहायक निरीक्षक रूपेश प्रसाद कुशवाहाले लागूऔषध दुर्व्यसनका कारण, प्रभाव र यसबाट बच्ने उपायबारे जानकारी गराएका थिए । उनले युवापुस्तालाई लागूऔषधको जोखिमबाट जोगाउन अभिभावक, विद्यालय र समुदायको साझा भूमिका आवश्यक रहेको बताए ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली–श्रीपुरका अध्यक्ष राम सर्राफले समाजमा बढ्दो लागूऔषध दुर्व्यसन न्यूनीकरणका लागि सचेतना अभिवृद्धि अपरिहार्य रहेको उल्लेख गर्दै विद्यार्थीलाई अनुशासित र जिम्मेवार नागरिक बन्न आग्रह गरे ।

कार्यक्रममा केन्द्रका सचिव जयलाल प्रसाद, कुल नारायण प्रधान, सदस्य जगत् राई, मधु सिंह राजपूत उपाध्याय, विपिन, प्रहरी सहायक हवलदार विश्वेश्वर प्रसाद साह, सुरेन्द्र कुमार यादव, प्रहरी जवान धनमाया दाहाल, सामुदायिक प्रहरी असई शिवनन्दन साह तथा प्रहरी कर्मचारी र विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिकालगायतको उपस्थिति रहेको थियो ।

आयोजकका अनुसार विद्यार्थीहरूमा लागूऔषधविरुद्ध सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

Back to top