×

सांकेतिक तस्बिर ।

वीरगञ्ज । हाल देशमा पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव कायम रहे पनि तराई क्षेत्रको मौसम भने अपेक्षाकृत स्थिर रहने देखिएको छ । विशेषगरी मधेस प्रदेशमा आज तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मधेस प्रदेशमा आज मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । वर्षाको सम्भावना न्यून रहेकाले दिउँसोको समयमा तापक्रम बढ्ने र गर्मीको अनुभूति बढी हुने अनुमान गरिएको छ । कोसी प्रदेशको तराई क्षेत्रमा पनि यस्तै किसिमको तातो दिन रहने सम्भावना छ ।

देशका अन्य भूभागमा भने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ । हिमाली र पहाडी क्षेत्रमा साधरणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । तराईका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने मध्यम वर्षा हुन सक्ने जनाइएको छ ।

आज राति मधेस प्रदेशसहित अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने भएकोले तापक्रममा सामान्य गिरावट आए पनि गर्मीको असर कायम रहने अनुमान गरिएको छ ।

मौसमविद्हरूले मधेस र तराई क्षेत्रमा बढ्दो गर्मीलाई ध्यानमा राख्दै पर्याप्त पानी पिउन, दिउँसोको समयमा अत्यधिक घाममा ननिस्कन तथा स्वास्थ्यमा सावधानी अपनाउन सर्वसाधारणलाई सुझाव दिएका छन् ।

Back to top